बुटवलको आम्दा अस्पताल जनरल अस्पतालमा परिणत हुँदै


भैरहवा– आम्दा (एशोसियन मेडिकल डक्टर्स अफ एशिया) नेपालद्वारा बुटवलमा सञ्चालित सिद्धार्थ बाल तथा महिला अस्पतालले अव आफ्नो सेवालाई महिला र बालवालिकाको उपचारमा मात्र सिमित नराखेर अन्य उपचार सेवा पनि बिस्तार गर्ने भएको छ ।
यसका लागि अस्पतालमा २ सय शय्या थप गरि जनरल अस्पतालको रुपमा परिणत गर्ने तयारी गरिएको आम्दा अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा.बिनोद पराजुलीले पब्लिक कुरासँग बताए । ‘अहिलेसम्म यस अस्पतालबाट महिला र बालवालिकाको उपचार हुँदै आएकोमा अव सेवा थप गरि अन्य उपचार सेवा पनि उपलब्ध गराउने तयारीमा हामी छौं’, पराजुलीले भने, ‘जनरल अस्पतालको रुपमा सेवा बिस्तार गर्नका लागि डिपीआरको प्रक्रियालाई अगाडि बढाएका छौं ।’
पराजुलीका अनुसार, हाल अस्पतालमा महिला तथा बालवालिकाका निम्ती १ सय शय्या उपलब्ध छन् । अव २ सय शय्यामा अस्पताललाई परिणत गरि सवैलाई जनरल मेडिसिन, सर्जरी लगायतका उपचार सेवा उपलब्ध गराउने योजना अस्पताल व्यवस्थापन पक्षको हो । अस्पतालमा बालबालिका र महिलाको उपचार हुने गरेको छ ।
जापानको आम्दा इन्टरनेसनलको सहयोगमा २७ बर्ष अघि स्थापना भएको यस अस्पतालमा रुपन्देही लगायत कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, प्यूठान, रोल्पा, दाङ, रुकुमपूर्व जिल्लाका साथै भारतका विभिन्न स्थानबाट महिला तथा बालबालिका उपचारका लागि पुग्ने गर्छन् ।
‘अस्पतालमा रहेको १ सय शय्यामा महिला र बालवालिका निम्ति प्रदान गरिँदै आएको उपचार सेवा यथावत नै उपलब्ध रहने छ’, मेडिकल सुपरिटेन्डेन्ट पराजुलीले भने, ‘थप गरिने २ सय शय्यामा अन्य उपचार सेवा बिस्तार गरि उपलब्ध गराइने छ ।’
अस्पताल प्रशासनका अनुसार, अस्पतालमा दैनिक १ सय ५० देखि २ सय जना बिरामीको उपचार हुने गरेको छ । गत आवमा करिव ४५ हजार बिरामीको ओपिडीबाट उपचार गरिएको थियो । भने, ८ सय भन्दा धेरै बच्चा र करिव ३ हजार महिलाको सल्यक्रिया भएको थियो । अस्पतालमा २५ जना चिकित्सक कार्यरत छन् ।
डिपीआरको प्रक्रिया सकिएपछि मात्रै अस्पतालमा खर्चको लागत भन्न सकिने जनाउँदै पराजुलीले अस्प्तालमा लाग्ने सवै खर्चको स्रोत आम्दा इन्टरनेशनल जापानले बेहोर्ने सम्झौता भइसकेको बताए ।
यसैबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र जापानको आम्दा इन्टरनेसनलका अध्यक्ष डा. सुगेरु सुगानामीबिच अस्पतालको क्षमता बढाउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।








प्रतिकृया दिनुहोस्