July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

भीम अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउनु पर्नेमा जोड

Advertisement

भैरहवा–रुपन्देहीको सवै भन्दा पुरानो भीम अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाहरु पछिल्ला बर्षमा गुणस्तरीय बन्दै गैरहेको भएपनि अझ प्रभावकारी बनाउदै लैजानु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । अस्पतालमा थप सुधारकालागि अहिलेको व्यवस्थापकिय टिम निरन्तर रुपमा खटेर पहल गर्नकालागिपनि उनिहरुले सुझाव दिएका छन् ।

Advertisement

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालय र भीम अस्पतालद्वारा बुधवार भैरहवामा आयोजित आव २०८१–०८२ मा भीम अस्पतालले प्रदान गरेका सेवाको बार्षिक समिक्षा कार्यक्रमका सहभागीले अस्पतालमा उपचारको सेवा गुणस्तर बन्दै गएपनि समयसापेक्ष अनुरुप उपचार सेवालाई अझ बिश्वाशिलो र प्रभावकारी बनाउनु पर्ने बताएका हुन् ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइले भीम अस्पतालको उपचार सेवा क्रमिक रुपमा सुधार हुदै जान थालेको भएपनि बर्तमान आवश्यकतालाई पुरा गर्ने गरि अझै उपचार सेवामा विविधीरकण गर्न जरुरी भएको बताए ।

‘तीन बर्षको अवधिमा भीम अस्पताल बारेमा धेरै गुनासा सुन्नमा आएका थिए । अहिले धेरै सुधार भएकाले गुनासा कम छन्’ चपाइले भने, ‘यो अस्पतालमा अहिलेको पुस्ताको स्वास्थ्य आवश्यकतालाई समेट्ने गरि उपचार सेवामा विविधीकरण ल्याउन जरुरी छ ।’

अस्पतालमा कार्यरत चिकित्सकलाई सेवामुखी भएर अस्प्तालमा काम गर्न आग्रह गर्दै उनले विमा बापतको रकम तत्काल भुक्तानी उपलब्ध नहुने समस्याले बिमाको उपचार कसरी सञ्चालन गर्ने ? भन्ने समस्या जताततै हुन थालेको बताए । भीम अस्पतालमा अहिलेको व्यवस्थापकीय सहितको चिकित्सकको टिम दक्ष भएकाले उपचार सेवा गुणस्तरिय र प्रभावकारी बनेको भनाइ उनको थियो ।

अस्पताल विकास समितिका पुर्व अध्यक्ष कुल प्रसाद न्यौपानेले भीम अस्प्तालको उपचार सेवा बित दुई–तीन बर्षदेखि सुधार हुदै आएको दावी गरे । राजनीतिक दल र प्रभावशाली व्यक्तिको भनसुन र दवावमा नभइ अस्पतालमा आवश्यकताको आधारमामात्र कर्मचारी राख्नु पर्ने सुझाव उनको थियो ।

नेकपा एमाले सिद्धार्थनगरका नगर कमिटी इन्चार्ज चक्र थापाले पहिला गरिब दुःखीकोमात्र भनिने भीम अस्पताल अहिले मध्यम बर्गिय तथा हुनेखाने बिरामीकालागीपनि उपचार गर्ने स्थलो भएको निजी अस्पतालहरुसँग प्रतिष्पर्धा गर्न सक्षम हुन थालेको बताए ।

बिस १९९० सलमा स्थापित भीम अस्पतालमा हाल सरकारबाट स्विकृती प्राप्त ५० वेड र अस्पताल विकास समितीबाट ५७ गरि १ सय ७ बेडको अस्पताल हो । व्यवस्थापन, चिकित्सक, प्राविधिक र अन्य कर्मचारी समेतगरि सहित कुल १ सय ८० जना कर्मचारी कार्यरत छन् । जसमध्ये, ७५ जना सरकारी दरबन्दीका हुन् ।

अस्पतालका मेडिकल रेकर्ड सुपरभाइजर खमजङ खत्रीले अस्पतालमा १३ जना सिनियर बिशेषज्ञ र ८ जना मेडिकल अधिकृत कार्यरत रहेको बताए । खत्रीका अनुसार, भीम अस्पतालमा आव २०८१–०८२ मा ओपिडीतर्फ १ लाख २० हजार ३ सय ४६ जना बिरामी उपचारकालागि आएका थिए । यो संख्या आव २०८०–०८१ मा १ लाख १२ हजार ८ सय ४५ जना आएका थिए । इमर्जेन्सीमा आव २०८१–०८२ मा २१ हजार २ सय ८९ र अघिल्लो आवमा १४ हजार ९ सय १३ जना उपचारकालागि आएका थिए ।

२०८०–०८१ मा अस्पतालमा कुल ५ हजार ६ सय २६ जना बिरामीको शल्यक्रिया गरिएको थियो भने गत आवमा ५ हजार ८ सय ६० जनाको गरिएको थियो । तथ्याङक अनुसार, भीम अस्पतालमा प्रतिदिन १ हजार १ सय ४९ वटा ल्याव टेष्ट हुने गरेको छ , भने प्रतिदिन अल्ट्रासाउण्ड ३४ र मुटुको इसिजी १३ वटा हुने गरेको छ । ्

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट शकुन्तला गुप्ताले सिमीत साधन श्रोत र जनशक्तिको अधिकतमा प्रयोग गरेर गुणस्तरीय उपचार प्रदान गरिदै आइएको दावी गरिन्‘अस्पताल र उपचार सेवाप्रति देखाइने सवै खालको चाशो र चिन्तालाई हामीले सम्मान गर्दै उपचार सेवालाई अझ सहज र प्रभावकारी बनाउनमा प्रयत्नशील छौं’ गुप्ताले भनिन्, ‘उपचार सेवाको गुणस्तरियता र प्रभावकारीताका वारेमा बिरामी र आफन्तसँग प्रतिकृया लिने गरिएको छ ।’

भीम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा.अनन्त कुमार शर्माले भीम अस्पतालको सेवाहरुलाई अझ प्रभावकारी बनाउन आफ्नो पहल निरन्तर रहने र समन्वयकारी भूमिका रहने प्रतिबद्धता व्यक्त गरे ।