संजीवनी अस्पतालको ‘शुभ साइत कार्यक्रम’का अवसरमा निःशुल्क शिविर


दाङ– संजीवनी शिक्षण अस्पतालको ‘शुभ साइत कार्यक्रम’ सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा सोमबार दाङको घोराही उपमहानगरपालिका–३ स्थित भानपुरमा कार्यक्रम भएको हो ।
दाङमा अस्पताल संचालनको तयारी गरिएको छ । त्यसका लागि शुभ साइत कार्यक्रम गरिएको हो । अस्पतालले ‘शुभ साइत कार्यक्रम’ को अवसर पारेर यस क्षेत्रका बिरामीहरुलाई लक्षित गरी सोमबारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जसमा विरामीहरुले विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क परामर्शका साथै निःशुल्क चेकजाँच, ल्याब सेवा, इसिजी, भिडियो एक्स–रे तथा औषधीहरु प्राप्त गर्नेछन् ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाका अनुसार यो अस्पतालको स्थापनासँगै दाङजिल्ला मात्र नभइ साविक राप्ती अञ्चलका प्युठान, रोल्पा, पूर्वी तथा पश्चिम रुकुम र सल्यान जिल्लाका बिरामीहरु लाभान्वित हुनेछन् ।
‘यस क्षेत्रबाट थप उपचार तथा विशिष्टीकृत सेवाका लागि रुपन्देही, बाँके, काठमाडौं जानुपर्ने बाध्यता हट्ने छ’, उनले भने । उनका अनुसार करिब ४ अर्ब लगानीमा स्थापना भएको यो अस्पताल दशैं लगतै पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।
अस्पतालमा विशिष्टीकृत सेवाहरु नसाम्बन्धी न्यूरोलोजी, मुटुसम्बन्धी कार्डियोलोजी, पिसाबसम्बन्धी युरोलोजी, मृगौलासम्बन्धी नेफ्रोलोजी, पेटसम्बन्धी ग्यास्ट्रोलोजी सेवा पनि उपलब्ध हुने उनले बताए ।
हाल ३ सय शय्याबाट सुरुवात गर्न लागिएको अस्पताल आागामी ३ वर्षभित्र ५ सय शय्यामा वृद्धि गरिने अस्पतालको लक्ष्य छ । अस्पताल सञ्चालनसँगै यस क्षेत्रका बिरामीहरुले आईसीयु, सिसियु, एनआईसीयु, पिआईसीयु, एमआईसीयु सेवा प्राप्त गर्नेछन् ।
अस्पतालमा मृगौला बिरामीहरुका लागि डायलासिस, मुटुसम्बन्धी बिरामीका लागि क्याथ ल्याबका साथै ५० शय्याको आकस्मिक सेवा (इमर्जेन्सी सेवा) २४ औं घण्टा सञ्चालनमा रहनेछ । यसका साथै ‘बी’ श्रेणीका अत्याधुनिक प्रयोगशाला सेवाका साथै रेडियोलोजी अन्तर्गत एमआरआई, सिटी स्क्यान, भिडियो एक्स–रे, डिजीटल एक्स–रे सेवा प्रदान गर्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत रोकाले जनाए ।
अहिले करिब ५ विघाको क्षेत्रफलमा तीन तलाका ९ वटा भवनहरुबाट सुरु गरिएको यस अस्पतालको सञ्चालक समितिको अध्यक्ष युवा उद्यमी खुमाप्रसाद अर्याल छन् । अर्याल युनिभर्सल मेडिकल कलेज, भैरहवा, नेपालगंज मेडिकल कलेज, कोहलपुर र गण्डकी मेडिकल कलेज, पोखरामा पनि साझेदार लगानीकर्ता हुन् ।
अस्पतालले यस क्षेत्रमा करिब ४ सयभन्दा बढी रोजगारीको अवसर सिर्जना गर्ने जनाएको छ । त्यस्तै स्वास्थ्य सेवाका अतिरिक्त निकट भविष्यमा मेडिकल शिक्षा अन्तर्गत एमबीबीएस, बीडीएस, ल्याब, फार्मेसी, हेल्थ एसिष्टेन्ट, स्टाफ नर्स लगायतको पढाइ सुरु गरिने अस्पतालले जनाएको छ ।








प्रतिकृया दिनुहोस्