May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

भेरी अस्पतालमा निःशुल्क ‘अल्टेप्लेज इन्जेक्सन’

Advertisement

बाँके– जिल्लास्थित भेरी अस्पतालमा मस्तिष्कघात (स्ट्रोक) भएका बिरामीलाई निःशुल्क अल्टेप्लेज इन्जेक्सन उपलब्ध गराइने भएको छ । अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेका अनुसार इन्जेक्सनले बिरामीलाई पक्षघात हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ । मस्तिष्कघातको लक्षण देखिएलगत्तै साढे चारघण्टाभित्र अस्पताल ल्याउन सके उपचारको सम्भावना उच्च हुने उनको भनाइ छ ।

Advertisement

हाल एक भायल अल्टेप्लेज इन्जेक्सनको मूल्य करिब एक लाख रुपैयाँ पर्छ । जसलाई सबै बिरामीले खरिद गर्न सक्दैनन् । त्यसैले अस्पतालमा निःशुल्क उपलब्ध गराउँदा विपन्न तथा सिमान्तकृत वर्ग लाभान्वित हुने अपेक्षा गरिएको छ । पहिलो चरणमा भेरी अस्पतालमा २० भायल उपलब्ध भएको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिएका छन् ।

यसअघि काठमाडौँ र भरतपुरलगायतका केही सरकारी अस्पतालमा मात्रै यो सुविधा निःशुल्क उपलब्ध थियो । भेरी अस्पतालमा भने हालसम्म उपलब्ध थिएन । हालै डा. सुवेदी, डा. पाण्डेसहितको पहलमा यहाँ पनि सुविधा विस्तार गरिएको हो । अस्पतालको यो कदमले नेपालगञ्ज मात्र नभई बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेखसहित आसपासका जिल्लाका बिरामीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।