May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

साँघुरो हेल्थ डेस्क, प्रयोगबिहीन होल्डिङ सेन्टर

कृष्णनगर (कपिलवस्तु)– प्रदेशको व्यस्त मध्येको कृष्णनगर नाका व्यवस्थित हुन सकेको छैन । पश्चिम नेपालका धेरै नागरिकले ओहोरदोहोर गर्ने नाका भए पनि यहाँ रहेका हेल्थ डेस्क र होल्डिङ सेन्टर व्यवस्थित हुन सकेका छैनन् । हेल्थ डेस्कका लागि पर्याप्त स्थान छैन भने कोरोना महामारीका बेला स्थापना गरिएको होल्डिङ सेन्टर अहिले प्रयोगबिहीन छ ।

Advertisement

जिल्लाको कृष्णनगर–२, स्थित भन्सार कार्यालय नजिकै साँघुरो कोठामा हेल्थ डेस्क छ । ठाउँ अभावमा काम गर्न कठिनाई हुने गरेको छ । डेस्कमा अहिले ८ जना स्वास्थ्यर्मी छन् । उनीहरुले अप्ठयारोका वापजुद सेवा प्रदान गरिरहेका छन् । तीन वर्षअघि निर्माण गरिएको होल्डिङ सेन्टरमा एक हजार जना अट्ने क्षमता छ । अहिले सेन्टरमा ६ सय बेड छन् ।

Advertisement

यो नाका हुँदैं साविक लुम्बिनी र राप्ती अञ्चलका सर्वसाधरण भारत ओहोरदोहोर गर्छन । नाकाबाट नजिकैं बढनी रेलवे सेन्टर छ । जसले गर्दा यात्रुलाई भारतयात्रा गर्न सजिलो हुने गरेको छ । त्यसैले भारतबाट मुलुक प्रवेश गर्ने नागरिकको स्वास्थ्य निगरानीकालागि हेल्थ डेस्कमा स्वास्थ्य कार्यालयले २ जना अहेव, १ अनमी, १ ल्याब असिस्टेन्ट, २ जना कार्यालय सहयोगी खटाएको छ । नागार्जुन डेभलपमेन्ट कम्युनिटी र विराट नेपाल मेडिकल ट्रष्टका गरेर दुइजना थप कर्मचारी डेस्कमा कार्यरत छन् ।

हेल्थ डेस्कबाट गत आर्थिक वर्ष २०८१–८२ को अवधिमा ४७ हजार ९ सय ८० जनाको स्क्रिनिङ गरिएको तथ्याङ्क छ । सो क्रममा १८ जनाको कोभिड परीक्षण गर्दा २ जनामा सङ्क्रमण, २ सय ८ जनाको मलेरिया परीक्षणका क्रममा ३ जनामा सङ्क्रमण, ३ सय ७८ जनाको एचआइभी परीक्षणका क्रममा १ जनामा सङ्क्रमण र २ सय ४४ जनाको क्षयरोगको खकार परीक्षणका क्रममा १ जनामा क्षयरोगको सङ्क्रमण देखिएको थियो ।

यही नाकामा आपतकालीन अवस्थामा प्रयोगका लागि निर्माण गरिएको होल्डिङ सेन्टर अलपत्र छ । हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर बनाउन सेनासँग सम्झौता गरेर चितवनको ओमसत्यसाई कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो । भन्सार यार्ड नजिकै ६ सय बेड र वडा नम्बर १ शिवनगरमा ४ सय बेडको होल्डिङ सेन्टर २७ करोड ६७ लाख लागतमा बनाइएको थियो ।