June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा विद्यालयमा स्वास्थ्य शिविर र शैक्षिक सामाग्री वितरण

Advertisement

भैरहवा– सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएको रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले भैरहवास्थित सिद्धार्थ आधारभूत विद्यालयमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धीे निःशुल्क स्वास्थ्य शिविर गरेको छ । यस्तै, क्लबले विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक एवं खेलकुद सामाग्री वितरण गरेको छ ।

Advertisement

सिद्धार्थनगर–१२ स्थित उक्त विद्यालयमा सोमबार आयोजित शिविरमा विद्यार्थी तथा अभिभावक गरी ६५ जनाको आँखा, नाक, कान तथा घाँटीसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको क्लबका अध्यक्ष विष्णु शर्माले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रममा ५५ जना विद्यार्थीहरुलाई शैक्षिक र खेलकुदका सामाग्री समेत वितरण गरिएको छ ।

लुम्बिनी नेत्रालय प्रालि र सिद्धार्थनगर सिटी हस्पिटल प्रालिको प्राविधिक सहयोगमा आयोजित शिविरबाट धेरै विद्यार्थी लाभान्वित भएको क्लबले बताएको छ । ‘क्लबले स्वास्थ्यलाई प्राथमिकता दिएको छ । विगतमा पनि यो विद्यालयमा कार्यक्रम गरिसकेका छौं’, क्लबका अध्यक्ष शर्माले भने, ‘आगामी दिनमा पनि विद्यालयमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने छौं । विद्यार्थीको आवश्यकता र प्रोत्साहन गर्न शैक्षिक एवं खेलकुद सामग्री वितरण गर्न पाउँदा खुशी लागेको छ ।’

सिद्धार्थनगर–१२ का वडाध्यक्ष कुमार गुरुङले क्लबले विभिन्न महत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको जनाउँदै यस्ता पवित्र कार्यलाई निरन्तरता दिँदै लैजान सुझाव दिए । उनले आगामी दिनमा क्लबसँग सहकार्य गरी अघि बढ्ने बताए ।

सिद्धार्थनगर–७ का वडाध्यक्ष दामोदर शर्मा घिमिरेले क्लबले सही विद्यालय छनोट गरेर सहयोग गरेको जनाए । विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोबिन्दप्रसाद बस्यालले गरिब तथा विपन्न परिवारका सदस्यहरु पठनपाठन गर्ने विद्यालयलाई क्लबको सहयोगले महत्वपूर्ण योगदान मिलेको सुनाए ।

सिद्धार्थनगर सिटी हस्पिटलका डा. न्यूटन ज्ञवालीले समयमै रोगको पहिचान भए उपचार पनि सहज रुपमा हुने बताए । विद्यालयका प्रधानाध्यापक ममता प्रधानले विद्यालयमा हाल ६५ जना विद्यार्थीहरु अध्ययनरत रहेको बताउँदै अत्यावश्यक सहयोग शिविरले विद्यार्थीहरुमा उत्साह थपेको जनाइन् ।

क्लबका संस्थापक अध्यक्ष विमल सेन्चुरीले सामाजिक सेवा गर्ने उद्देश्यले नै क्लब स्थापना भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । क्लबका पूर्वअध्यक्ष तथा लुम्बिनी नेत्रालयका प्रबन्ध निर्देशक डा. हिरा बहादुर शाहले सरकारी विद्यालयका विद्यार्थीको मनोबल उकास्न पनि यस्ता कार्यक्रमहरु निरन्तर हुनुपर्ने बताए ।

क्लबका सहसचिव दिनेश पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरु, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका पदाधिकारी तथा सदस्यहरु उपस्थित थिए ।