भाइरल ज्वरो, डेंगी र स्क्रबटाइफसका बिरामी बढेपछि चिन्ता


पाल्पा– दुई सातायता पाल्पामा भाइरल ज्वरो, स्क्रबटाइफस र डेंगी संक्रमणका विरामी बढेका छन् । जिल्ला अस्पतालका अनुसार दैनिक ३ सय ५० देखि ५ सय बिरामी आइरहेका छन् । सिजनल फ्लु अन्तर्गत भाइरल ज्वरोका बिरामी उपचारका लागि अत्यधिक आइरहेको डा. विवेक पौडेलले बताए । उनका अनुसार साउन लागेपछि भाइरल ज्वरोका बिरामी उपचारका लागि बढी आउने गरेका छन् ।
‘बिरामीको लक्षण डेंगी, स्क्रबटाइफसको जस्तो देखिन्छ,’ उनले भने, ‘तर डेंगी, स्क्रबटाइफस पोजेटिभ कमै देखिएको छ ।’ अस्पतालमा भर्ना भएर उपचार गर्ने बिरामीमा १०४ डिग्रीसम्मको ज्वरो आएको भेटिएको छ । अस्पतालमा १५ देखि २० जनासम्म बिरामी भर्ना गरेर राख्ने क्षमता छ । त्यसबाहेक उपचारका लागि आउने बिरामीलाई औषधी दिएर घर पठाउने वा अन्यत्र रिफर गर्नुपर्ने अवस्था भएको डा. राजेन्द्र पौडेलले बताए । उनका अनुसार सिजनल फ्लुका बिरामीलाई भर्ना गरेर उपचार गरिएको छ । ‘धेरै जना बिरामीलाई लामो समयसम्म ज्वरो सञ्चो नहुने समस्या देखिएको छ,’ उनले भने, ‘त्यस्ता बिरामीलाई भर्ना गरेर उपचार गरिएको छ ।’
तानसेन भुसालडाँडास्थित युनाइटेड मिसन अस्पतालमा पनि साउन लागेसँगै भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । डेंगी, स्क्रबटाइफसका बिरामी पनि साउन लागेसँगै धेरै आउने गरेका छन् । चिकित्सकका अनुसार अस्पतालमा आउने ३ सय बिरामीमा ४० देखि ५० जना भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । लुम्बिनी मेडिकल कलेजमा पनि भाइरल ज्वरोका बिरामी उपचारका लागि धेरै आउने गरेका छन् । भर्ना हुनेभन्दा पनि उपचारका लागि आउनेहरुमा ज्वरोका बिरामी बढी आउने गरेको अस्पतालकी मेट्रोन शिखा पहारीले बताइन् । उनका अनुसार इमर्जेन्सीमा उपचार गर्न आउनेमध्ये २० प्रतिशतमा भाइरल ज्वरोका बिरामी भेटिने गरेको छ ।
रामपुर अस्पतालमा पनि भाइरल ज्वरोका बिरामी बढेको अस्पतालले जनाएको छ । विगतमा फाट्टफुट्ट देखिएको डेंगी संक्रमण दुई सातामा हृवात्तै बढेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुदन भट्टराईले बताए । उनका अनुसार गत पुस दोस्रो सातादेखि असार तेस्रो सातासम्म १ सय २० जना डेंगी संक्रमित रहेकामा साउनको दोस्रो सातासम्म १ सय ७६ पुगेको छ । जनवरीमा २, फ्रेबुअरीमा ६, मार्चमा ७, अप्रिलमा ११, मेमा २३, जुनमा ३२, जुलाईमा ९५ जनामा डेंगी संक्रमित भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।








प्रतिकृया दिनुहोस्