May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

भैरहवा मेडिकल कलेजमा आधारभूत शल्यक्रिया सीप कार्यशाला

Advertisement

भैरहवा– युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) भैरहवाको शल्यक्रिया विभागको आयोजनामा एकदिने आधारभूत शल्यक्रिया सीप कार्यशाला सम्पन्न भएको छ । युसीएमएसका सूचना अधिकारी सुशील गुरुङले जुनियर चिकित्सक तथा मेडिकल विद्यार्थीहरुलाई सुरक्षित र नियन्त्रित वातावरणमा शल्यक्रियाको आधारभूत सीप र सिद्वान्तहरुमा दक्ष बनाउने उद्देश्यसहित कार्यशाला आयोजना गरिएको जानकारी दिए ।

Advertisement

गुरुङका अनुसार कार्यक्रमको कोर्स डाइरेक्टरको रुपमा शल्यक्रिया विभागका प्रमुख प्रा.डा.सन्तोष शाह र कोर्स संयोजकमा सह–प्रा.डा.सन्तोष मिश्रा रहेका थिए । प्रा.डा.शाहका अनुसार यो कार्यशालाले एसप्टिक प्रविधि, उपकरण सम्हाल्ने तरिका, गाँठो कस्ने, टाँका लगाउने र टिस्यु ह्यान्डलिङ्ग जस्ता प्रत्यक्ष अभ्यासमा आधारित सीपहरु विकास गर्न केन्द्रित गर्दछ । अर्कोतर्फ कार्यशालाले आत्मविश्वास बढाउने, हातका सन्तुलन सुधार्ने र राम्रो शल्यक्रियात्मक बानी प्रवद्र्धन गर्न टेवा पुग्ने उनले बताए ।

‘यसले सटिकता, सुरक्षा, व्यवसायिकताप्रति जोड दिँदै सहभागीहरुलाई अपरेशन थिएटरमा जिम्मेवारी लिन र शल्यक्रियासँग सम्बन्धित तालिम वा इन्टर्नसिपको तयारीमा समेत मद्दत पुग्नेछ’, उनले भने । कार्यशालामा संकाय सदस्यको रुपमा डा.राज कुमार के.सी., डा.किशोरमान श्रेष्ठ, डा.निश्चल गौतम, डा.विकाश चन्द्र शाह, शिक्षण अस्पताल महाराजगंज, काठमाडौंबाट डा.रन्जन सापकोटा, डा.अभिषेक भट्टराई थिए ।

कार्यशालामा युसीएमएसको शल्यक्रिया, हाडजोर्नी, महिला तथा प्रसुति, इमर्जेन्सी जनरल प्राक्टिस, नाक, कान तथा घाटी, ओरल म्याक्जोफेसियल सर्जरी विभागहरुबाट गरी २१ जना, लुम्बिनी मेडिकल कलेजबाट ६ जना तथा देवदह मेडिकल कलेजबाट ७ जना गरी ३४ जनाको सहभागिता थियो । लुम्बिनी मेडिकल कलेजका सहभागी डा.शिव तिवारीले यस्ता कार्यक्रम आवासीय चिकित्सकका लागि धेरै नै लाभदायक रहेको जनाए । ‘यसले सिद्वान्त र व्यवहारबीचको अन्तर हटाएर चिकित्सकको आत्मविश्वास र दक्षता अभिवृद्धि गर्छ’, उनले भने ।

त्यस्तै देवदह मेडिकल कलेजका डा.चन्द्रेश कुमार सिंहले यो कार्यशाला आधारभूत कोर्स रहेको र यसले चिकित्सकको दिगो विकासमा मद्दत पुर्याएको जनाए । उनले आगामी दिनमा अझ एडभान्स कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिए । कार्यशालामा सहभागी युसीएमएसका हाड तथा जोर्नी विभागका आवासीय चिकित्सक डा.आनन्द अधिकारीले कार्यक्रमले प्रारम्भिक चरणमै यस्ता सीपहरुले थिएटरमा जिम्मेवारी बहन गर्न, ‘मेडिकल त्रुटहिरु’ को सम्भावना घटाउन, पेशागत दृष्टिकोण र टिमवर्कलाई सुदृढ बनाउन टेवा पुग्ने जानकारी दिए ।