May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

प्रदेश सरकारले प्रहरी अस्पतालको स्तरबृद्धिमा ध्यान दिन्छः मुख्यमन्त्री आचार्य

Advertisement

बाँके– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश प्रहरी अस्पताल, बाँकेमा नव निर्मित अपरेशन थिएटर भवनको उद्घाटन गरेका छन् । लुम्बिनी प्रदेश सरकारको सात करोड ७७ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको उक्त भवनको बिहीबार एक समारोहबीच मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन् ।

Advertisement

कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्रहरी अस्पतालको स्तरवृद्धिमा विशेष ध्यान दिने बताउँदै यसलाई १५ शय्यामा सीमित नराखी ५० शय्याको अस्पतालका रूपमा विकास गरिने स्पष्ट पारे । मुख्यमन्त्री आचार्यले भने, ‘यसलाई १५ शय्यामा सीमित गर्नु हुँदैन । अबिलम्ब आवश्यक पर्ने कागजातहरू प्रदेशको स्वास्थ्य मन्त्रालयमा पठाउन निर्देशन दिन चाहन्छु । प्रदेश सरकारको तर्फबाट यसलाई विधिवत रूपमा ५० शय्याको अस्पतालका रूपमा स्तरवृद्धि गरेर अगाडि बढाउने छौं ।’

उनले आगामी दिनमा यो अस्पताललाई बाँकेको विशिष्टिकृत अस्पतालका रूपमा विकास गरिने उल्लेख गरे । सेवासुविधा विस्तारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जनाए । ‘उपकरणहरू र विशेषज्ञ जनशक्तिको व्यवस्थापन गर्न पनि प्रदेश सरकारले आवश्यक पहल गर्नेछ,’ मुख्यमन्त्री आचार्यले भने, ‘यसका लागि अस्पताल व्यवस्थापन समितिले गम्भीर ध्यान दिन जरुरी छ ।’

सो अवसरमा प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवाल, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्रप्रसाद भट्ट, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज काठमाडौंका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा.गोपेशकुमार ठाकुर, प्राविधिक प्रहरी नायव उपरीक्षक डा.यामकृष्ण लौडारीले अस्पताललाई विशिष्टिकृत बनाएर लैजानुपर्नेमा जोड दिए ।