May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पर्यटन प्रवर्द्धन गर्न कंचन गाउँपालिकाले चित्रकला कार्यशाला गर्दै

Advertisement

भैरहवा– कंचन गाउँपालिकाले पालिका भित्रका पर्यटकीय, धार्मिक, सांस्कृतिक एबम् पुरातात्विक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले चित्रकला प्रदर्शनी गर्ने भएको छ । गाउँपालिकाले नेपाल ललितकला प्रतिष्ठान काठमाडौँसँगको सहकार्यमा यहि जेठको अन्तिम सातादेखि चित्रकला कार्यशाला गर्ने भएको हो ।

Advertisement

प्रमुख प्रशासकीय अधिकृत माधावप्रसाद पोख्रेलले दुई दिनसम्म चल्ने उक्त कार्यशालामा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुको सहभागिता रहने जनाए । नेपाल ललितकला प्रतिष्ठान काठमाडौँका २० जना बढी कलाकारले गाउँपालिका भित्र पर्ने ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरु तथा बुद्ध जन्मस्थल लुम्बिनीसँग सम्बन्धित विषयबस्तुहरुको चित्रकला क्यानभासमा उतार्ने कंचन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बताए ।

पालिकाको समग्र सम्पदाहरुको प्रचार प्रसार, संरक्षण एबम् सम्बद्र्धन गरि आन्तरिक तथा बाह्य पर्यटनलाई थप टेवा दिन चित्रकला कार्यशाला गर्न लागेको गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले बताइन् । कंचनको वडा नम्बर–१ स्थित गजेडी (दानापुर) ताल परिसरमा आयोजना गर्न लागिएको सो चित्रकला कार्यशाला मार्फत सिर्जनशीलताको विकाससँगै पर्यटन प्रबद्र्धन गर्न थप सहयोग पुग्ने आशा गरिएको छ ।