युुनिभर्सल हाई स्कुलमा विद्यार्थीहरूको काव्य उत्सव


भैरहवा– भैरहवास्थित युनिभर्सल पब्लिक हाई स्कुलमा काव्य उत्सव कार्यक्रम सम्पन्न भएको छ । आमाको मुख हेर्ने दिवश (मातातिर्थ औंशी) को अवसर पारेर उक्त विद्यालयको साहित्यिक विद्यार्थी सङ्गठन ‘युनिभर्सल विद्यार्थी साहित्य समाजले’ उक्त साहित्यिक उत्सव कार्यक्रम आयोजना गरेको हो ।
कक्षा ६ देखि १० का विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा कुल २५ जना विद्यार्थीले आ–आफ्ना कविता तथा कृति वाचन गरेका थिए । अधिकांश विद्यार्थीले आमा, देश प्रेम तथा देशभक्ति र सहिदका वारेमा कविता र कृतिको सिर्जना गरेको विद्यालयका सहायक प्राचार्य सुरज घिमिरे ‘दीपशिखा’ ले बताए ।
कार्यक्रमको प्रमुख आतिथ्यता गरेका साहित्यकार विजय सागरले विद्यार्थीहरूको साधना र सिर्जना प्रशंसनीय रहेको भन्दै विद्यालयहरूले यस्ता सिर्जनात्मक कार्यक्रमहरूलाई नियमित रूपमा संचालन गर्नुपर्नेमा जोड दिए ।
कक्षा १० की छात्रा गङ्गा घिमिरेको संचालन रहेको उक्त कार्यक्रमको सभाध्यक्ष कक्षा १० का छात्र सम्राट पोखरेलले गरेका थिए । सहायक प्राचार्य घिमिरेले स्वागत मनतव्य सहित बालगजल समेत वाचन गरेका थिए ।
विद्यालयका प्राचार्य गोकुल पोखरेलले विद्यालयले बालबालिकाहरूमा सिर्जनशीलताको विकास गर्न यस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिएको बताए । उक्त कार्यक्रममा पठन संस्कृतिको विकास गर्ने उद्देश्यसहित विद्यार्थीहरूलाई मुना पत्रिकाको वैशाख अंक प्रदान गरिएको थियो ।
‘यस्ता कार्यक्रमको माध्यमबाट पठन संस्कृतिलाई बढाउन खोजिएको हो’, सहायक प्राचार्य दीपशिखाले भने, ‘यस्ता कार्यक्रमले विद्यार्थीलाई साहित्यिक बिधाप्रति आकर्षित गर्ने गर्छ ।’








प्रतिकृया दिनुहोस्