अर्घाखाँची धार्मिक पर्यटनको आकर्षण बनेको छः मुख्यमन्त्री आचार्य


अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा धार्मिक पर्यटकहरूको आकर्षण बढ्दै गएको बताएका छन् । सुपा देउराली मन्दिर संरक्षण समितिको १३औं साधारण सभाको शुक्रबार उद्घाटन गर्दै उनले धार्मिक पर्यटन प्रवद्र्धनका लागि डिजिटल प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिए ।
‘अर्घाखाँची धार्मिक, सांस्कृतिक र पर्यटनको दृष्टिकोणले अपार सम्भावना बोकेको जिल्ला हो । यहाँ पाणिनि तपोभूमि, अर्घा दरबार, मालारानी, बलकोट पौवा, सिद्धेश्वर मन्दिर जस्ता ऐतिहासिक तथा धार्मिक स्थलहरू छन् । सुपा देउराली मन्दिरमा वार्षिक लाखौँ भक्तजन आउने गरेका छन्, व्यवस्थित प्रचारप्रसार गर्न सकियो भने धार्मिक पर्यटन अझ विस्तार गर्न सकिन्छ’, मुख्यमन्त्री आचार्यले भने, ‘धार्मिक पर्यटकहरु आकर्षित हुँदै गएको पाएका छौं । थप व्यवस्थित गरेर अघि बढ्न जरुरी छ ।’
उनले डिजिटल युगमा धार्मिक पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारलाई प्रविधिसँग जोड्न आवश्यक रहेको उल्लेख गरे । ‘हामीले सुपा देउरालीका गतिविधि तथा प्रगतिलाई दैनिकरूपमा सार्वजनिक गर्नुपर्छ । एउटा डिजिटल पेज बनाएर हरेक दिनको विवरण अद्यावधिक गर्ने प्रणाली विकसित गरिनुपर्छ,’ उनले भने, ‘देश–विदेशमा अर्घाखाँचीलाई चिनाउन र पर्यटक भित्र्याउन मद्धत पुग्छ ।’
मुख्यमन्त्री आचार्यले सुपादेउराली मन्दिरलाई थप व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै सफाइ, सुरक्षा र व्यवस्थापनमा सुधार गर्न निर्देशन दिए । उनले सफाइ कर्मचारीको व्यवस्था गर्न, भेटी संकलनको पारदर्शी उपयोग गर्न र मन्दिरको गुरुयोजना निर्माण गरी अगाडि बढ्नुपर्ने धारणा राखे । ‘संकलित भेटी मन्दिरको सौन्दर्यकरणमा खर्च गर्नुपर्छ’, उनले भने, ‘ठूला निर्माणका नाममा बजेट छरपष्ट गर्नु हुँदैन । पूर्वाधार निर्माणको जिम्मेवारी सरकारले लिन्छ, समितिले गुरुयोजनाका आधारमा काम गर्नुपर्छ ।’
मुख्यमन्त्री आचार्यले अर्घाखाँचीको धार्मिक पर्यटनलाई थप प्रवद्र्धन गर्नुपर्ने बताउँदै पाणिनि सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए । ‘देशभित्र र बाहिरका धर्मगुरुलाई यहाँ ल्याएर पाणिनि सम्मेलन गर्दै छौँ’, उनले भने, ‘पतञ्जलि ऋषि यही पवित्र भूमिमा जन्मनुभएको हो, यसको प्रचारप्रसार पनि सन्तोषजनक रूपमा हुन सकेको छैन । यसलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी छ ।’
मुख्यमन्त्री आचार्यले धार्मिक पर्यटकहरूको आगमन बढाउने हो भने योजनाबद्ध रूपमा काम गर्न आवश्यक रहेको बताउँदै व्यवस्थित प्रचारप्रसार गर्न सके वर्षको १५–२० करोड रुपैयाँ आम्दानी गर्न धारणा राखे । गुरुयोजनाले तोकेको निर्माण कार्य गर्न अब अरू कसैको मुख ताक्नुपर्ने अवस्था नरहने भन्दै धार्मिक पर्यटनको दीर्घकालीन सम्भावनामा जोड दिए । कार्यक्रममा प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, शीतगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेल, समितिका अध्यक्ष फर्सबहादुर खत्री लगायतले पर्यटन प्रबद्र्धनका लागि सुपादेउरालीको थप प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।








प्रतिकृया दिनुहोस्