गोरखादेखि गोरखपुरसम्मको दोस्रो खिचडी यात्रा सुरु

भैरहवा– माघे संक्रान्तिको अवसरमा गोरखाको गोरखनाथ मन्दिरदेखि भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ सुरु गरिएको छ ।
यो खिचडी यात्रा दोस्रो शृंखला हो । धार्मिक तथा सांस्कृतिक महत्वको गोरखाको गोरखनाथ कालिका मन्दिरको प्रचारप्रसार गर्ने र गोरखामा धार्मिक पर्यटन बृद्धि गर्ने उद्देश्यले गत वर्षदेखि माघेसंक्रान्ति पर्वमा गोरखाबाट गोरखपुरसम्मको खिचडी यात्राको सुरुवात गरिएको हो । यस पटक आइतवारदेखि यो यात्रा सुरु गरिएको छ ।
गोरखपुरस्थित गोरखनाथ मन्दिर र गोरखास्थित गोरखनाथ मन्दिर बीचको आपसी सम्बन्धलाई उजागर गराउने र आपसी सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले खिचडी यात्रा सुरु गरिएको गौमाता सेवा महासंघ गोरखाका अध्यक्ष होमसिंह बस्न्यातले बताएका छन् ।
‘गोरखामा धार्मिक पर्यटकीय गतिविधि बढाउन गोरखादेखि गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्म गत वर्षदेखि खिचडी यात्रा गर्न थालिएको हो’, बस्न्यातको भनाइ छ, ‘परापूर्वकालदेखि नै माघेसंक्रान्तिका दिनका लागि गोरखाको गोरखनाथ मन्दिरदेखि गोरखपुरको गोरखनाथ मन्दिरमा खिचडी पठाउने प्रचलन रहेछ ।’
तर, विभिन्न कारणले गर्दा बिगत २० बर्षदेखि रोकिन पुगेको यो प्रचलनलाई गत बर्षदेखि पुनः निरन्तरता दिन थालिएको हो । माघेसंक्रान्तिका दिन गोरखपुरको गोरखनाथ मन्दिरमा सबैभन्दा पहिला गोरखाबाट पठाइएको खिचडी चढाउने गरिन्छ । गोरखाको खिचडीपछिमात्र बल्ल अन्य स्थानबाट ल्याइएका खिचडी चढाउने गरिन्छ ।
यस पटकको खिचडी यात्रामा गोरखाका स्थानीय जनप्रतिनिधिसहित ६० जनाको सहभागिता छ । आइतवार विहान गोरखानाथ मन्दिरबाट शुभसाइत गरी बाजागाजा मङ्गलधुन स्वस्तिक वाचनसहित गोरखा–गोरखपुर यात्रा थालिएको हो । खिचडी पुर्याउने परम्पराको पुनः थालनी गरेसँगै भारतको उत्तर प्रदेश र गोरखाबीचको धार्मिक सम्बन्ध अझै बलियो हुँदै जाने र यसले गोरखामा धार्मिक पर्यटक बढाउन सकिने अध्यक्ष बस्न्यातको भनाइ छ ।
प्रतिकृया दिनुहोस्