October 15, 2024, Tuesday
२०८१ आश्विन २९

लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनियाँ भाषा प्रशिक्षण तथा सिकाई केन्द्र स्थापना

लुम्बिनी- यहाँस्थित लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनियाँ भाषा प्रशिक्षण तथा सिकाई केन्द्र स्थापना भएको छ । यो सिकाई केन्द्र नेपालमा चौथो र काठमाणडौं बाहिर पहिलो हो । यहाँ एचएसके तहका परीक्षाहरु चल्ने छन् । चीनमा अध्ययनका लागि जान चाहने विद्यार्थीले अनिवार्य यो परीक्षा पास गर्नुपर्ने हुन्छ ।

Advertisement

सिकाई केन्द्रको शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे । उनले एचएसके सेन्टरको वोर्ड अनावरण गरेर उद्घाटन गरेका हुन् । सो अवसरमा लुम्बिनी बौद्ध विश्व विद्यालय र चीनको हनान विश्व विद्यालयबीचमा चिनियाँ भाषा सिकाई केन्द्र सञ्चालन सम्वन्धमा सहकार्य सम्झौता गरिएको छ ।

कार्यक्रममा बाेल्दै मुख्यमन्त्री आचार्यले नेपाल र चीन दुई देशबीचको मित्रता अझ सुमधुर बनाउन सिकाई केन्द्रले योगदान गर्ने जनाए । ‘दुई देशबीचको भाषा, संस्कृतिको हस्तान्तरणका साथै पर्यटन अभिवृद्धिमा समेत सहयोग पुग्ने विश्वास लिएको छु’, मुख्यमन्त्री आचार्यले भने, ‘चीनका पर्यटकहरुलाई लुम्बिनीमा ल्याउन पनि सहयोग पुग्ने छ ।’

बौद्ध विश्व विद्यालयका उपकुलपति प्रा.डा.सुर्वणलाल ब्रजाचार्यले विश्व विद्यालयमा चिनियाँ भाषा प्रशिक्षण तथा सिकाई केन्द्र स्थापना हुँदा समग्र देशलाई महत्वपूर्ण टेवा पुग्ने बताए । एचएसके परीक्षाका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गर्न सफल भएकोमा खुसी व्यक्त गरे । ‘चिनियाँ भाषा परीक्षाका लागि काठमाडौं धाउनुपर्ने बाध्यता थियो । अव त्यो बाध्यता हटेको छ’, उनले भने, ‘लुम्बिनीमा देश बाहिरका विद्यार्थीलाई ल्याउने अभियान अन्तर्गत एउटा महत्वपूर्ण उपलब्धि हासिल भएको छ ।’

बौद्ध विश्व विद्यालयका रजिस्ट्रार डा.तिलकराम आचार्यले एक बर्ष अगाडि चीनको हनान विश्व विद्यालयसँग भएको सहकार्य सम्झौता अनुसार चिनियाँ भाषा प्रशिक्षण केन्द्र स्थापना भएको जानकारी दिए । यो उपलब्धीले बौद्ध विश्व विद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

यसैवीच विश्व विद्यालयमा शुक्रबारनै बुद्धिजम एण्ड नेपाल स्टडिज अध्ययन गर्ने चीनका २३ जना विद्यार्थीलाई स्वागत गरिएको छ । चीनको हनान विश्व विद्यालयका अध्यक्ष छ्वाङ क्वाङ लिनले नेपाल र चीन दुई देशबीच सुमधुर सम्वन्ध विस्तार गर्न प्रशिक्षण सेन्टर महत्वपूर्ण हुने बताए । कार्यक्रममा नेपाल र चीनका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।