नगरपालिकाले छात्रवृत्तिमै छक्यायो
गुल्मी– जिल्लाको सदरमुकाम रहेको रेसुंगा नगरपालिकाले यहाँका छात्रछात्रालाई छात्रवृत्तिमै छक्याएको पाइएको छ । नगरपालिकाले २ वर्षअघि घोषणा गरेको ‘अध्ययन प्रोत्साहन छात्रवृत्ति’ मार्फत् पालिकाका विद्यार्थीलाई छक्याएको हो । पालिकाले कक्षा ११ र १२ मा अध्ययनरतलाई मासिक ४ हजार रुपैयाँ छात्रवृत्ति दिने घोषणा गरेको थियो । तर, उक्त नगरपालिकाले तोकिएबमोजिमको छात्रवृत्ति रकम उपलब्ध गराएको छैन ।
नगरपालिकाले २०७९ साउनमा नगरभित्रका उच्चमाबि अध्ययन गर्ने विद्यार्थीलाई मासिक ४ हजारका दरले छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसका लागि एसईई र कक्षा ११ मा ३.२ जीपीए ल्याउनुपर्ने सर्त थियो । नगर प्रमुख खिलध्वज पन्थीले शैक्षिक पलायन रोक्न र शैक्षिक संस्थालाई चलायमान बनाउन यस्तो घोषणा गरिएको बताएका थिए ।
उक्त छात्रवृत्ति प्राप्त गर्ने आसमा सदरमुकामका विद्यालयमा भर्ना भएर पढिरहेका विद्यार्थीले अहिले कक्षा १२ पूरा गरेका छन् । तर अहिलेसम्म पनि नगरले घोषणा गरेको रकम नपाएपछि नगरपालिकाले झुक्याएको भन्दै विद्यार्थी र अभिभावक असन्तुष्ट बनेका छन् ।
‘पहिला मासिक ४ हजारका दरले दिने भनेका थिए तर ११ कक्षामा १६ हजार र १२ कक्षामा जम्मा १२ हजार मात्र दिनुभयो,’ इश्मा–१ की सम्झना बोहराले भनिन्, ‘४ हजारले त तम्घासको खर्च टारिन्छ भन्ने आशले तम्घासमै भर्ना भइयो तर दिएनन्, आशमात्र देखाए ।’
घोषणा अनुसार रकम दिएको भए विद्यार्थीले २ वर्षको ९६ हजार पाउनुपर्ने थियो । तर पहिलो वर्ष १६ हजार र दोस्रो वर्ष १२ हजार गरी प्रतिविद्यार्थी जम्मा २६ हजारका दरले मात्र उपलब्ध गराएको नगर प्रमुख पन्थीले बताए । सुरुमा एसईईमा ३.२ जीपीए ल्याएका विद्यार्थी भर्ना भएमा कक्षा ११ र १२ मा मासिक ४ हजारका दरले छात्रवृत्ति दिने घोषणा गरेको नगरपालिकाले अर्को वर्ष नियम परिवर्तन गरेर कक्षा ११ मा पनि ३.२ भन्दा धेरै जीपीए ल्याउनुपर्ने नियम बनाएको थियो ।
प्रतिकृया दिनुहोस्