नियमानुसार छात्रवृत्ति उपलब्ध गराउन संस्थागत विद्यालयहरूलाई सिद्धार्थनगरको निर्देशन
भैरहवा– रुपन्देहीको सिद्धार्थ नगरपालिकाले आफ्नो क्षेत्र भित्रका संस्थागत विद्यालयहरुलाई नियमानुसार छात्रवृत्ति उपलब्ध गराउन निर्देशन जारी गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्तिमा मनोमानी गरिरहेको अभिभावकको गुनासोपछि नगरपालिका अन्तर्गत शिक्षा शाखाले सबै विद्यालयलाई सरकारी नियम पालाना गर्न आइतबार सूचना जारी गर्दै निर्देशन दिएको हो ।
संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ को दफा ६.१ का साथै शिक्षा नियमावलीको नियम १५१.१ बमोजिम छात्रवृत्ति वितरण नगरिएको गुनासोपछि यस्तो सूचना जारी गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव चेतनशील लम्सालले बताए । उनले जारी गरेको सूचनामा नियम अनुसार कक्षा प्रथम हुने छात्रछात्राले शतप्रतिशत र द्वितीय हुनेलाई ५० प्रतिशति शुल्क मिनाह गरी जेहेन्दार छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको उल्लेख छ ।
उक्त नियमअनुसार मापदण्ड पुगेका विद्यार्थीलाई तत्काल छात्रवृत्तिको व्यवस्था मिलाउन निर्देशन गरिएको छ । नगरपालिकाले जारी गरेको सूचनामा संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिकाको दफा ६.२ अनुसार र शिक्षा नियमावलीको नियम १५१.२ बमोजिम संस्थागत विद्यालयका कुल विद्यार्थी संख्याको कम्तिमा १० प्रतिशत नघटाई गरिब, अपांग, महिला, दलित र जनजाती विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था भएकाले सोही अनुसार छात्रवृत्तिको व्यवस्था मिलाउन भनिएको छ ।
नगरपालिकामा रहेका विद्यालयले आफुखुसी छात्रवृत्तिको नियम बनाएको पाइएको छ । केही विद्यालयले कक्षा प्रथम हुने छात्रछात्रालाई ५० प्रतिशत मात्र जेहेन्दार छात्रवृत्ति उपलब्ध गराएका छन् । यस्तो नियम बनाउन कुनै सरकाी मापदण्ड र नियमलाई आधार बनाइएको छैन । विद्यालयले नाफा हेरेर अभिभावकको आँखा छल्न यस्तो नियम बनाएको गुनासो गरेपछि नगरपालिकाले सूचना जारी गरेको हो ।
लम्सालले नियम कार्यान्वयन भए–नभएको अनुगमन गरिने जनाए । ‘नियम पालना नभएको पाइए विद्यालयलाई आवश्यक कारबाही हुन्छ’, उनले भने, ‘यसैले सबै विद्यालयले नियम पालना गर्नुपर्छ ।’ भैरहवाका गनिएका विद्यालयले नै विद्यार्थीलाई छात्रवृत्ति नदिएको अभिभावकको गुनासो छ ।
प्रतिकृया दिनुहोस्