January 25, 2025, Saturday
२०८१ माघ १३

राष्ट्रपति पौडेलद्वारा पाल्पामा भगवती जात्राको पुजाआजा र अवलोकन

पाल्पा– राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पामा पुगेर भगवती जात्राको पुजाआजा र अवलोकन गरेका छन् । ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न मंगलबार राष्ट्रपति पौडेल पाल्पा पुगेका हुन् । राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका थिए । त्यसपछि उनले पुजाआजा र जात्रा अवलोकन गरेका हुन् ।

Advertisement

पाल्पाको तानसेनस्थित रणउजिरेश्वरी भगवती मन्दिरमा पूजा आराधना गरेका राष्ट्रपति फर्किइसकेका छन् । तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा प्रत्येक वर्ष भगवती रथ यात्रा हुने गर्दछ । लुम्बिनी प्रदेश सरकारले भगवती यात्राको दिन पाल्पा जिल्लामा यस वर्ष सार्वजनिक बिदा समेत दिएको छ ।

नेपालले अंग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसीयालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट धुमधामका साथ विजय उत्सवस्वरूप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन रहिआएको छ ।

तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राको रुपमा परिचित छ । कर्णेल उजीर सिंह थापाले वि.सं. १८७६ मा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राको रूपमा सञ्चालन गरिँदै आइएको छ ।