खानबस्न निःशुल्क व्यवस्था, जाने होइन त बुढीनन्दा मेला ?

भैरहवा– पर्यटकीय स्थलको भ्रमण गर्दा खाना, बस्न व्यवस्था र पथप्रदर्शकको निःशुल्क सुुविधा पाइने अवसर बिरलै ठाउँमा जुट्ने गर्छ । बरु, पर्यटन व्यवसायको प्रबद्र्धन गर्न विभिन्न महोत्सव तथा कार्यक्रमहरु संचालन गर्ने अहिलेको परिपाटी छ ।
जनै पूर्णिमाको अवसरमा बाजुराको प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल बुढीनन्दामा लाग्ने मेलामा यदि तपाईं पुग्नु भयो भने यो सुविधा पाउनु हुनेछ । साउन ३१ देखि भदौ ५ गतेसम्म त्यस क्षेत्रको भ्रमणमा जाने यात्रु तथा पर्यटकलाई यस खालको सुबिधा दिन लागिएको हो ।
हरेक वर्ष श्रावण शुक्ल दशमीका दिनबाट सुरु हुने बुढीनन्दा तिर्थ यात्रा जनै पूर्णिमाको दिन समापन हुन्छ । यो बेला खाली खुट्टा हिँडेर बुढीनन्दाको दर्शन गर्दा इच्छा गरिएको वर प्राप्त हुने जनविश्वासका कारण बर्षेनि ठूलो संख्यामा तिर्थयात्री त्यहाँ जाने गर्छन् ।
बुढीनन्दा नगरपालिका र बाजुराको पर्यटन प्रवद्र्धनका लागि सक्रिय युवाहरूको समूह ‘वाइल्ड बाजुरा’ ले यस बर्ष निःशुल्क यात्राको व्यवस्थापन गर्न लागेको हो ।
वाइल्ड बाजुराका सञ्चालक मनोज रेग्मीले यो वर्ष साउन ३१ गतेदेखि बुढीनन्दाको सिमकुरुबाट छाप्रे पाटन, लौडी विनायक, बरमाग्ने, चडिदह, धौलीपाटन, धौली भँडार, बुढीनन्दा हुँदै भदौ ५ गते लादेमा पुगेर समापन हुने गरि उक्त धार्मिक यात्राको आयोजना गरिएको र यात्रा अवधिभरि यात्रीलाई दुई छाक भोजन र रात्रीबासको लागि टेन्टको व्यवस्था गरिने बताएका छन् ।
रेग्मीका अनुसार, समुन्द्र सतहदेखि १५ हजार फिटको उचाइमा रहेको बुढीनन्दाको दर्शन तथा भ्रमण गर्दा आफूसँग रहेको खानेकुरा अन्य यात्रीलाई पनि बाँडेर खाने पुरानो चलन छ र यो प्रचलनलाई जोगाइराख्न यात्रुलाई निःशुल्क भ्रमणको व्यवस्था गरिएको हो ।
यसका लागि बुढीनन्दा नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ भने यात्राको अन्य व्यवस्थापन वाइल्ड बाजुराले गर्ने छ । ‘बुढीनन्दा आसपास रहेका दर्शनीय स्थल धौली पाटन, महारुद्र ताल, कैलाश ताल र खेतीबेती लगायतका ठाउ घुम्न चाहानेहरूका लागि पथप्रर्दशक पनि निःशुल्क उपलब्ध गराइने छ’, रेग्मीले बताए ।
बाजुराको सदरमुकाम मार्तडीबाट कालाजाग्रा पाण्डुसैन हँुदै बुढीनन्दा पुग्न सकिन्छ । नेपालगञ्जबाट कोल्टीसम्म हवाई सुविधा भएकाले सोझै कोल्टी गएर बुढीनन्दा जाँदा यात्रा अवधि छोटो हुन्छ । करिब एक दर्जन संख्यामा रहेका ताल यस क्षेत्रको मुख्य पर्यटकीय स्थल हुन् । बुढीनन्दाबाट मुगु, हुम्ला, कालिकोट लगायतका सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाको दृष्य देखिन्छ । बझाङमा रहेको साइपाल र जेठीबहुरानी लगायत हिमालपनि देखिन्छ । बर्षायामको चार महिना बाहेक अन्य बेला प्रायः हिउँले ढाकिने गर्छ ।
अनेक जडिबुटी पाइने यस क्षेत्रका पाटनहरू विभिन्न खालका भुइफूलले ढकमक्क ढाकिने त्यस क्षेत्रको अर्को बिशेषता हो । यो क्षेत्र पर्वतीय पदयात्राका लागि अत्यन्तै आकर्षक गन्तव्य हुनसक्ने भए पनि प्रचार–प्रसार हुन नसकेको भन्दै बुढीनन्दा नगरपालिका त्यस क्षेत्रको पर्यटकीय प्रवद्र्धनमा जुटेको छ । नगरपालिकाका प्रमुख जनक बोहराले साउन ३१ देखि सुरु हुने यात्राको सम्पूर्ण तयारी गरिसकिएको र निःशुल्क खाना, बासको व्यवस्था गर्दा यात्रामा धेरै यात्रुको आकर्षण थपिने अपेषा गरेको बताए । ‘यात्राका क्रममा आवश्यक पर्ने स्वास्थ्य उपचार, उपचार टोली, स्वयंसेवक र अन्य तयारी समेत गरिएको छ’, उनले भने ।
प्रतिकृया दिनुहोस्