रोहिणीमा प्रधानाध्यापक र प्रशासन सहायकलाई नेतृत्व क्षमता विकास तालिम

भैरहवा– प्रधानाध्यापक तथा विद्यालय प्रशासन सहायकहरु क्षमता विकास गर्न भन्दै रुपन्देहीको रोहिणी गाउँपालिकाले नेतृत्व क्षमता विकास सम्बन्धी कष्टमाइज्ड तालिम दिएको छ । गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा डेढ हप्ता तालिम दिइएको हो । रोहिणी–३ स्थित श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा आयोजित तालिममा ४५ जनाको सहभागिता रहेको थियो ।
पालिकाका शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेले तालिले क्षमता विकासमा महत्वपूर्ण योगदान दिएको विश्वास व्यक्त गरे । तालिम समापन कार्यक्रममा पालिकाका अध्यक्ष विद्याप्रसाद यादवले विद्यालय प्रशासनलाई चुस्तदुरुस्त राख्नुपर्नेमा जोड दिए । उनले भने, ‘शिक्षकलाई मात्र दोष दिएर हुँदैन । अभिभावकलाई पनि जागरुक बनाउनुपर्छ । शिक्षा क्षेत्रमा अझ राम्रो काम गर्नुपर्छ ।’
गाउँ शिक्षा समितिका संयोजक समेत रहेका यादवले रोहिणीमा शिक्षा क्षेत्रलाई अझ अगाडि बढाउन र शैक्षिक गुणस्तर सुधार गर्न सबैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले वडा कार्यालयहरुले पनि विद्यालयमा विशेष ध्यान दिनुपर्ने बताए । गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजनले शिक्षामा लगानी गर्न पछाडी नहट्ने बताइन् । उनले गाउँपालिकाले शिक्षाको विकासमा जोड दिँदै आएको बताइन् ।
त्यस्तै रोहिणी–१ का वडाध्यक्ष तथा गाउँपालिकाको सामाजिक विकास समिति संयोजक आविद अली पठानले तालिम आयोजना गर्नु सराहनीय कार्य रहेको बताए । उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए । गाउँपालिकाको शिक्षा शाखा घिमिरेले रुपन्देहीका विभिन्न नमूना विद्यालयका प्रधानाध्यापकहरुले तालिमको सहजीकरण गरेको बताए । उनले भने, ‘विकास शिक्षाबाट हुन्छ भने शिक्षामा लगानी गर्नुपर्छ । गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्छ । अभिभावक सचेत नभएसम्म हुँदैन ।’ उनले हरेक वडाले कम्तिमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउनुपर्ने बताए ।
समाजसेवी हरिद्वार हरिजनले शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए । उनले शिक्षा क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । गाउँ शिक्षा समिति सदस्य धनेश्वर कंवरले तालिममा सिकेको कुराहरु व्यवहारमा लागू गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले विद्यालयको अवस्था हेरेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । छिपागढ माविका प्रधानाध्यापक इन्द्रकुमार यादवले तालिम आयोजना गरेको भन्दै गाउँपालिका टीम र प्रशिक्षकहरुलाई धन्यवाद दिए । उनले भने, ‘आगामी शैक्षिक सत्रमा राम्रो नतिजा आउने पूर्ण विश्वास दिलाउन चाहन्छु ।’ मदरसा बैरिहवाका प्रधानाध्यापक मैनुद्दीन फकिरले मदरसाका विद्यार्थीहरुलाई पुरस्कृत तथा प्रोत्साहन गर्नुपर्ने र यसले राम्रो सन्देश जाने बताए । उनले तालिममा धेरै कुरा सिक्ने अवसर पाएको बताए ।
जनचेतना आधारभूत विद्यालयका प्रधानाध्यापक लक्ष्मी जिसीले १० दिने तालिम महत्वपूर्ण रहेको बताइन् । प्रधानाध्यापकहरुसँगै अब शिक्षकहरुका लागि पनि यस्तो तालिम सञ्चालन गनुपर्ने उनले बताइन् । शिक्षा शाखाका प्राविधिक सहायक नारायण ढुंगानाको सञ्चालनमा कार्यक्रम भएको थियो ।
प्रतिकृया दिनुहोस्