May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

Advertisement

लुम्बिनी– लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार पारिएको बगैँचामा विश्व शान्तिको कामना गर्दै पाठ गरिएको छ । बगैँचा परिसरमा निर्माण गरिएको चैत्य प्राणप्रतिष्ठान तथा महायानी बौद्ध परम्पराअनुसार प्राणीजगतको कल्याणको कामनासहित पाठ गरिएको हो ।

Advertisement

रुस–युक्रेन युद्धको शान्ति खोज्दै बुद्ध जन्मस्थल लुम्बिनीमा रसियन बुद्धिष्ट ओलिग बर्तुनोभसहितका समुदायले बगैँचा तयार पारेका हुन् । रसियाको बौद्ध सम्प्रदाय बाहुल्य राज्य कालमिकका नागरिक बर्चुनोभ लगायतका बौद्ध समुदायले लुम्बिनी प्लाजामा बगैँचा निर्माण लगायत संरचनाका लागि सहयोग गरेका छन् ।

रसिन खेन्पो एवं रसियन केन्द्रीय बौद्ध आध्यात्मिक प्रशासनका अध्यक्ष गेसे योङतेनसहित नेपालका लामा गुरुहरुको उपस्थितिमा लुम्बिनी प्लाजामा रहेको चैत्यमा प्राणप्रतिष्ठान पाठ र विश्व शान्तिको कामना गरिएको थियो ।

उक्त अवसरमा लुम्बिनी विकास कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, कोषका बोर्ड सदस्य राजेश शाक्य पुजा तथा पाठमा सरिक भएका थिए । लुम्बिनी गुरुयोजना क्षेत्रलाई सौन्दर्यकरण गर्दै बौद्धमय बनाउनका लागि रसियन बौद्ध सम्प्रदायको सहयोग विश्व शान्तिका लागि उदाहरणीय कार्य भएको कोषका सदस्य सचिव शाक्यले बताए ।

रसियन बुद्धिष्ट ओलिग बर्तुनोभले आफू बुद्ध जन्मस्थलमा आएर बौद्ध सम्प्रदायको आस्थामा एउटा भए पनि इँट्टा थप्न पाएकोमा खुशि व्यक्त गरे । पछिल्लो समय रुस–युक्रेन युद्ध चर्किंदा बौद्ध सम्प्रदायले बुद्ध जन्मस्थल लुम्बिनीमा शान्तिको खोजी गर्दै आउनेक्रम बढेको छ ।