शास्वत धाममा बागेश्वर बाबाको प्रवचन सुन्न जानेको ओइरो


नवलपुर– भारतमा अलौकिक र अतिवादी मानिएका भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक धीरेन्द्रकृष्ण शास्त्री कथा वाचनका लागि पूर्वी नवलपरासीको दुम्कौंलीमा चौधरी समूहले निर्माण गरेको शास्वत धाम आइपुगेका छन् । शास्त्रीले शनिवारदेखि तीन दिन उक्त धाममा कथा वाचन गर्ने कार्यक्रम छ । उनीबाट कथा सुन्नका लागि मुलुकभरबाट श्रदालु धाम पुग्नेक्रम जारी छ ।
रुपन्देहीको भैरहवाबाट पनि कथा सुन्नका लागि जाने क्रम सुरु भएको छ । उनीहरुले उक्त धाममा पुगेर शास्त्रीबाट आशिर्वाद लिने जनाए । त्यसैले कथा सुन्न छिमेकी भारतबाट समेत श्रदालु आइरहेको र यसले मुलुकको पर्यटन प्रबद्र्धन हुने भैरहवाका पर्यटन व्यवसायी सन्जय बजिमयले बताए । उनले यस्ता कार्यक्रमबाट मुलुकलाई लाभ हुने भएकाले सबैले सघाउनु पर्ने बताए ।
प्रवचनका लागि चौधरी समुहको उद्योग ग्राम परिसरमा धामलाई सजाइएको छ । चौधरी समुहको निम्तोमा शास्त्री नेपाल आएका हुन् । शास्वत धाम परिसरमा पण्डाल लगाएर कथा वाचन स्थल तयार गरिएको छ । शास्त्रीले भदौ २, ३ र ४ गतेसम्म कथा वाचन गर्ने कार्यक्रम रहेको शास्वत धामका व्यवस्थापक असोक घर्तीले बताए । ‘हनुमन्त कथा वाचनका लागि शास्त्री जी शास्वत धाम आउनु भएको हो,’घर्तीले भने, ‘धाम परिसरमा नै कार्यक्रम हुनेछ । त्यसको तयारी पूरा भएको छं ।’ भीडभाड हुने भएकाले विशेष सुरक्षा व्यवस्था गरिएको उनले बताए ।
उनका अनुसार एक दिनमा करिब ११ हजार जनाले कथा सुन्न मिल्ने गरेर स्टेजको व्यवस्थापन गरिएको छ । तीन दिनमा ४० हजारले प्रत्यक्ष कथा सुन्ने धामले जनाएको छ । प्रत्यक्ष उपस्थित नहुनेका लागि सामाजिक संजाल तथा डिजिटल डिस्प्ले मार्फत कथा सुन्न सकिने व्यवस्था मिलाईने घर्तीले बताए । चौधरी गु्रप एवं सिजी कर्प ग्लोवलका प्रवन्ध निर्देशक वरुण चौधरीको निमन्त्रणामा शास्त्री कथा वाचनकालागि यहाँ आउन आएका हुन् । कथा वाचन अवधरीभर शास्त्री चौधरी ग्राम परिसरमै बस्ने धाम स्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस्