May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

‘अलौकिक’ बाबालाई प्रशासनद्वारा रोक

दाङ– मुलुकका विभिन्न जिल्लामा अलौकिक मनोवैज्ञानिक उपचारका नाममा ठगी गरिरहेको आरोप लागेका ‘ज्योतिष’ सिमान्त केसी प्रशासनको निगरानीमा परेका छन् । उनलाई दाङ जिल्ला प्रहरीले यस्तो उपचारमा रोक लगाएको छ । केसी जिल्ला आउने भएपछि छिमेकी जिल्लाबाट समेत तीन सय भन्दा बढी मानिस जम्मा भएका थिए । तुलसीपुर–६, स्थित त्रिसिद्धेश्वरी मन्दिरमा आइतबार विहानै लामो लाइन लागेको थियो । त्यही केसीले सर्वसाधरणसित भेटघाट गरिरहेको बेला प्रहरीले उनलाई रोक लगाएको थियो ।

केही समयदेखि केसीले हात, अनुहार हेरेर, शरिर छामेर रोग निको पार्ने भन्दै सामाजिक सञ्जालमा भाइरल भएका थिए । उपचारका लागि सयौं सर्वसाधरण भीड लाग्ने गरेका थिए । उपचारका नाममा ‘भ्रम’ फैलाइएपछि उनीमाथि निगरानी बढाएको थियो । दाङ पुगेका बेला ‘भ्रम’ फैलाइएको पाइएपछि काममा रोक लगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले बताए । प्रतिव्यक्ति एक हजार रुपैयाँ उठाएर उपचार गर्ने गलत प्रचारप्रसार गरिएको पाइएपछि रोक लगाइएको डीएसपी मल्लले बताए । उपचारका लागि भन्दै सल्यान, रोल्पा र बाँकेबाट समेत मानिसहरु आएको उनले जानकारी दिए ।

डीएसपी मल्लले आइतबारदेखि चार दिनसम्म कार्यक्रम गर्ने तयारी गरिरहेको बेला रोकिदिएको उनले बताए । जिल्ला प्रहरी कार्यालयका डीएसपी राजनकुमार गौतमले प्रशासनलाई कुनै जानकारी नदिएर मानिसको भीड लागेको देखेपछि रोक लगाइएको जनाए । कार्यक्रममा रोक लगाएपछि केसी बाँकेको नेपालगञ्जतर्फ गएको गौतमले बताए । स्थानीय एक समूहले तुलसीपुरमा केसीको उपचारबारे प्रचार गरेको पाइएको उनले जानकारी दिए ।

Advertisement