पत्रकार घिमिरेद्वारा जन्मदिनको अवसरमा अक्षयकोष स्थापना


सैनामैना– पत्रकार नवीन घिमिरेले जन्मदिनको अवसरमा रुपन्देहीको सालझण्डीस्थित पशुपति माविमा अक्षयकोष स्थापना गरेका छन् । ४१ औं वर्ष प्रवेश गरेको अवसरमा पत्रकार घिमिरेले बिहीबार स्वर्गीय वुवा कान्तुराम घिमिरेको सम्झना र आमा टोपकला घिमिरेको सम्मानमा ५० हजार राशीको ‘कान्तुराम–टोपकला अक्षयकोष’ स्थापना गरेका हुन् ।
अक्षयकोषको ब्याजबाट आउने रकमले विभिन्न कालखण्डमा अभिभावक गुमाएका बालबालिकाहरूलाई छात्रबृत्ति प्रदान गरिने छ । घिमिरेले प्रत्येक बर्ष बुवाको पुण्यतिथि र आफ्नो जन्मदिनमा अक्षयकोषमा रकम थप गर्दै जाने बताए । नेपाल पत्रकार महासंघ, रूपन्देही शाखाका कार्यसमिति सदस्य समेत रहेका उनी साझा टेलिभिजन एचडीका स्टेसन म्यानेजर हुन् ।
अक्षयकोष स्थापना कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. १० का वडाध्यक्ष कृष्णप्रसाद घिमिरेले पत्रकार घिमिरे र उनको परिवारको सक्रियतामा स्थापना गरिएको अक्षयकोषले अभिभावक नभएकै कारण पढाइको अवसरबाट बञ्चित भैरहेका बालबालिकालाई शिक्षामा जोड्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले अक्षयकोष स्थापनाले समाजमा राम्रो काम गर्न चाहनेहरुलाई पनि प्रेरणा प्राप्त हुने बताए ।
पशुपति माविका प्रधानाध्यापक हरि थापाले पत्रकार घिमिरे परिवारले स्थापना गरेको अक्षयकोषबाट विद्यालयमा अध्ययन गर्दै गरेका धेरै विद्यार्थीलाई सहयोग पुग्ने जनाए । उनले यो अक्षयकोष अभिभावक गुमाएका बालबालिकालाई ध्यानमा राखेर उनीहरुको शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले स्थापना गरिएकोले अरु अक्षयकोष भन्दा पृथक हुने उनको भनाई छ ।
अक्षयकोष घोषणा कार्यक्रम पशुपति माविका अध्यक्ष भागिरथी घिमिरेको अध्यक्षतामा भएको थियो । उक्त अवसरमा सहायक प्रधानाध्यापक केदार सापकोटा र सल्लाहकार नरेन्द्र सोमरेले पत्रकार घिमिरे र उनको परिवारले अक्षयकोष स्थापना गरेर समाजलाई नयाँ उदाहरण दिएको बताउँदै अभिभावक गुमाएका विद्यार्थीको शिक्षामा ठूलो सहयोग पुग्ने जनाए । कार्यक्रमको सञ्चालन शिक्षक धातानन्द भुसालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्