November 29, 2023, Wednesday
१३ मंसिर २०८०, बुधबार

आइपुगे मोरारी बापू, भोलिदेखि लुम्बिनीमा राम कथा प्रवचन

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा मंगलबार (भोलि)देखि राम कथा प्रवचन सुरु हुँदैछ । भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापूले कथा वाचन गर्ने छन् । फागुन ३ गतेसम्म चल्ने कथा वाचनमा सहभागी हुन नेपाल, भारतसहित विश्वभरका धार्मिक एवं आध्यात्मिक भक्तजन लुम्बिनी आएका छन् । यसले लुम्बिनीको पर्यटन प्रवद्र्धन हुने भन्दै स्थानीय र पर्यटन व्यवसायी हर्षित भएका छन् । आयोजकका अनुसार कथा वाचनको सम्पूर्ण तयारी भएको छ ।

Advertisement

कथा वाचनका लागि बापू सोमबार भारतबाट चार्टर्ड विमानमार्फत् भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । त्यहाँ उनलाई पूर्व गृहमन्त्री बालकृष्ण खाँण, राम कथा प्रेमयज्ञ समिति, लुम्बिनीका संयोजक राजेशकुमार अग्रवाल लगायत अन्य सदस्यहरु, विभिन्न धार्मिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले स्वागत गरेका थिए ।

Advertisement

आयोजक राम कथा प्रेमयज्ञ समिति, लुम्बिनीका अनुसार लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभा हलमा प्रवचन हुनेछ । बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलोपल्ट हुन लागेको प्रवचनले लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा थप प्रचारप्रसार गर्ने छ । ९ दिनसम्म चल्ने प्रवचनमा नेपालबाहेक भारतलगायत विश्वभरका २ हजार बढी श्रद्धालु लुम्बिनी आएको जनाइएको छ । ‘मोरारी बापूका फलोअर्सहरु यहाँ आउनुभएको छ’, कार्यक्रम संयोजक एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अग्रवालले भने, ‘कथा वाचनले लुम्बिनी क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने छ ।’

आध्यात्मिक गुरु बापू भारतलगायत विश्वभर प्रख्यात छन् । उनका विश्वमा करोडौं फलोअर्स भएको बताइन्छ । आध्यात्मिक गुरु मोरारीको लुम्बिनीमा हुने राम कथा प्रवचन ९१२ औँ हो । यसअघि उनले ९११ औं कथा वाचन गरिसकेका छन् । नेपालमा यस अघि सन् २०२१ मा मुक्तिनाथ, २०२२ मा जनकपुरमा कथा वाचन भइसकेको छ । त्यस अघि काठमाडौं र भुसुण्डी सरोवर तिलिचो तालमा पनि कथा वाचन भएको थियो ।

लुम्बिनीमा हुने प्रवचनमा भक्तजनका लागि निःशुल्क भोजन गराइने छ । ‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहेका बापूले सबै धर्मका प्रमुख तीर्थ स्थलहरु एवम् प्रमुख स्थानहरुमा प्रवचन गर्दै आएको अग्रवालले बताए । ‘उहाँको अभियान अन्तर्गत भारतको बोध गया, सारनाथ तथा कुशीनगरमा राम कथा प्रवचन सम्पन्न भइसकेको छ । नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो’, उनले भने ।

उनका अनुसार कथा वाचन भएका क्षेत्रमा पर्यटब प्रबद्र्धन हुँदै आएको छ । ‘कोरोना महामारीले थला परेको लुम्बिनी क्षेत्रको पर्यटन विकासमा यो कार्यक्रम फलदायी मात्रै हुने छैन, व्यवसायी यसबाट राम्रो लाभ लिनुहुने छ भन्ने हाम्रो विश्वास हो’, उनले भने । उनका अनुसार कार्यक्रममा आउने श्रद्धलुलाई निःशुल्क भोजन गराइए पनि बास बस्नका लागि भने स्वयं श्रद्धालुले आफै व्यवस्थापन गरेका छन् । ‘दुई हजार श्रद्धालुले आफै खर्च तिरेर होटलमा बस्दा पक्कै पनि व्यवसायीलाई लाभ हुनेछ’, उनले भने, ‘कति श्रद्धालु पहिलो पटक लुम्बिनी आउँदै हुनुहुन्छ, उहाँहरुले लुम्बिीका बारे प्रचारप्रसार गर्दा पक्कै पनि भोलिका दिनमा लुम्बिनीमा पर्यटकको आगमन बढ्ने छ ।’

आयोजक कमिटी सदस्य कृष्णकुमार जालानले लुम्बिनी क्षेत्रका लागि यो कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने बताए । ‘यसले लुम्बिनी प्रबद्र्धनमा ऐतिहासिक काम गर्ने छ’, उनले भने, ‘कार्यक्रमको लाभ लुम्बिनीबासीले बर्सौंसम्म लिनेछन् ।’ यस अघि सन् २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो । कार्यक्रमको चर्चित भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट १७० बढी देशमा प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको छ ।

लुम्बिनीमा राम कथा वाचन हुने भए पछि यस क्षेत्रका सबैजसो होटलहरु बुकिङ भइसकेका छन् । लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीलले पर्यटन क्षेत्रको उत्थानका लागि यो कार्यक्रम फदलायी हुने विश्वास व्यक्त गरे । ‘थला परेको लुम्बिनी क्षेत्रको प्रबद्र्धनमा कार्यक्रम कोशेढुंगा हुनेछ’, उलने भने, ‘हामी पर्यटन व्यवसायी कार्यक्रम आयोजनाले निकै हर्षित भएका छौं । यस्ता कार्यक्रम लुम्बिनीमा भइरहनुपर्छ ।’