October 15, 2024, Tuesday
२०८१ आश्विन २९

गुरू-पण्डितहरूसमेत बोल्न नसकेको अवस्थामा मैले हिन्दु राष्ट्रको आवाज उठाएँः उपप्रधानमन्त्री लिङ्देन

भैरहवा– उपप्रधान एवं उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले आफूले कठिन क्षणमा पनि हिन्दु राष्ट्रको पक्षमा आवाज उठाउँदै आएको बताएका छन् । मुलुकमा कठिन परिस्थिति हुँदा समेत आफूले हिन्दु राष्ट्र हुनुपर्छ भन्ने कुरामा कुनै विचलित नभई लागिपरेको उनले जनाए ।

बिहीबार रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित नवदुर्गा मन्दिर क्षेत्रमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री लिङ्देनले भने, ‘तपाईं हामीलाई थाहा छ, मुलुकका असाध्यै कष्टकर दिनहरुमा पनि मैले नेपाल हिन्दू राष्ट्र कायमै हुनुपर्छ भनेर उभिएको थिएँ । अहिले त नउभिने कुरै भएन । हिन्दु राष्ट्र नेपाल बनाउन लागिरहन्छु ।’

Advertisement

उनले धर्म–संस्कृतिको रक्षा गर्नु सबैको दायित्व भएको जनाए । ‘नेपालका गुरु–पण्डितहरुले समेत बोल्न नसकेको बेला मैले नेपाल हिन्दू राष्ट्र कायमै हुनुपर्छ भनेर लागिपरेको व्यक्ति हुँ । जसले गर्दा हिन्दुत्वसँग सम्बन्धित कार्यक्रमहरु जहाँ आयोजना गरिए पनि आफ्नै कार्यक्रम जस्तो लाग्छ’उनले भने ।

लिङ्देनले महायज्ञ जस्ता धार्मिक कार्यक्रमहरुले मुलुकमा धार्मिक पर्यटनको वृद्धि, विकास गर्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘यस्ता कार्यक्रमले मुलुकको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्छ’, उनले भने, ‘धेरै भन्दा धेरै कार्यक्रम आयोजना गरौं । धार्मिकसँगै पर्यटन क्षेत्रलाई पनि फाइदा पुगोस् ।’ ओमसतियाको डण्डा नदी किनारमा जगद्गुरु पीठ निर्माणार्थ महायज्ञ आयोजना गरिएको हो । उपप्रधानमन्त्री लिङ्देनले नेपालका ऐतिहासिक जगद्गुरु पीठ निर्माण पश्चात् यो क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे ।

जगद् गुरु पीठ निर्माणका लागि सरकारबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । उनले महायज्ञमा पवित्र मनले सहयोग गर्न अपील समेत गरे । लुम्बिनी तथा यस आसपाप आउने धार्मिक पर्यटकलाई लक्षित गरि यहाँ पीठ निर्माण गर्न लागिएको हो । नेपालका प्रथम जगद् गुरु बालसन्त मोहन शरण देवाचार्य महाराजको पहलमा भैरहवामा जगद् गुरु पीठ निर्माणका लागि महायज्ञ आयोजना गरिएको थियो । महायज्ञ बिहीबार सम्पन्न भएको छ । जगद् गुरुको चौथो शक्ति पिठ स्थापना गर्ने उद्देश्यसहित महायज्ञको आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक विष्णुबहादुर रायमाझीले जानकारी दिए ।

महायज्ञ समापनमा बोल्दै जगद्गुरु देवाचार्यले संसदबाट नै हिन्दुधर्मको पक्षमा आवाज उठाउनु पर्नेमा जोड दिए । उनले हिन्दुराज्यमा अन्य धर्मका नेपालीहरु पनि सुरक्षित महशुश गरेको बताउँदै ती सबैको चाहना पनि नेपाल हिन्दु राज्य नै हुनु पर्ने रहेको जिकिर गरे । ‘हिन्दु धर्मले सबैको सम्मान गर्छ, सबैप्रति करुणा भाव राख्छ’, उनले भने, ‘त्यसैले सबै मिलेर नेपाललाई हिन्दु राज्य बनाऔं ।’ पूर्वमा चतराधाम बराहक्षेत्रमा प्रथम जगद् गुरु पीठ निर्माण भएको थियो ।

दोस्रो शारदा पीठ महाकाली, तेस्रो निलाद्री पीठ मुक्तिनाथ क्षेत्र जोमसोममा स्थापना भइसकेको छ । चौथो पीठ भैरहवामा स्थापना हुने चरणमा रहेको बताइएको छ । यो पीठ जगद् गुरुको अन्तिम पीठ हुने छ । महायज्ञमा रेडियो नेपालका पूर्व निर्देशक एवं धार्मिक कार्यक्रमका ख्याति प्राप्त विद्वान आचार्य पुुरुषोत्तम सापकोटा र कथा प्रवचन एवं भागवताचार्य कथा व्यास डा. यादव शरण गड्तौलाले पाठ–पारायण गरेको महायज्ञ मूल आयोजक समितिले जनाएको छ । पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्धारी, लुम्बिनी लगायत नेपालका धार्मिक स्थल दर्शन गर्न आउने लाखौ भारतीय भक्तजनलाई निःशुल्क आवास र खानाको सुबिधासहित भैरहवा पीठ सञ्चालनको लक्ष्य राखिएको छ । महायज्ञ माघ ४ गतेदेखि सुरु भएको थियो ।