सत्यवती मेलामा घुइँचो


पाल्पा– जिल्लास्थित सत्यवती मेलामा यस वर्ष पाँच दिन श्रदालुको घुइँचो लाग्यो । सत्यवती ताल मन्दिर व्यवस्थापन समितिका अनुसार बिहीबारदेखि मेला सुरु भएको हो । यहाँ लाग्ने मेलालाई नेपालमै अनौठो मानिन्छ । कोभिड र जोग नपर्दा (कात्तिकमा कात्तिके पूर्णिमा पर्दा जोग परेको भनिन्छ) विगत तीन वर्ष मेला लाग्न सकेको थिएन ।
समितिका अध्यक्ष दानबहादुर गाहाका अनुसार यसअघि तीन दिन लाग्दै आएको मेला यस वर्ष भने जोग परेकाले पाँच दिन नै लगाइएको हो । तिनाउ गाउँपालिका–४ लगाड कोलडाँडामा रहेको धार्मिक पर्यटकीय स्थल सत्यवती तालमा कान कम सुन्ने बज्यै भएको र चिच्याएर वर माग्दा पुग्ने जनविश्वास छ । त्यही जनविश्वास अनुसार नै हज्जारांै श्रद्धालु मेला भर्न आएका हुन् । दिउ“सोमा भन्दा बढी भीड रातीमा लागेको थियो ।
यसपटक कात्तिके पूर्णिमा कात्तिकमै परेकाले सत्यवती मन्दिर दर्शन गर्न राम्रो हुने भएकाले पनि भीड लागेको पुजारी सुनवीर गाहाले बताए । कात्तिके पूर्णिमाका बेलामा पूजा विशेष हुने भएकाले मेला लाग्ने उनले बताए । तालको वरपरको क्षेत्रमा उत्पन्न भएको विश्वास गरिएकी बज्यैले कान नसुन्ने भएकाले चिच्याएर वर माग्ने चलन बसेको स्थानीय तथा समितिका सचिव लालबहादुर दर्लामीले बताए । ‘यस वर्ष साह्रै मान्छे आए,’ उनले भने, ‘रातीको समयमा अझ धेरै भीड लाग्यो ।’
पाल्पासहित छिमेकी जिल्लाका विभिन्न स्थानका साथै भारतबाट पनि भक्तजन आएका थिए । तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जिल्लाकै गहनाका रूपमा सत्यवती ताल र मन्दिर रहेको बताए । मेलामा मन्दिर दर्शन गर्न चाहने अपांगता भएका र वृद्धवृद्धालाई पनि सवारीमा पुग्ने व्यवस्था गरिएको छ ।
२४ माइल र झुम्सा पानीमिलबाट पुग्ने सडक मर्मत र खोलामा कजबेको व्यवस्था गरिएकाले श्रद्धालुलाई सहज भएको गाउँपालिकाले जनाएको छ । वडाध्यक्ष तुलबहादुर आलेका अनुसार मन्दिर पुग्ने सडक मर्मत, पिउने पानी, शौचालयको थप व्यवस्थापनको काम भएकाले श्रद्धालुलाई सहज भएको हो । यस वर्ष मन्दिर र तालमा डेढ लाख दर्शनार्थी आएको अनुमान समितिको छ ।
प्रतिकृया दिनुहोस्