September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

ओमसतियाद्वारा आयोजित हाजिरी जवाफमा छोट्कीरामनगर प्रथम

भैरहवा– रुपन्देहीको ओमसतियामा गाउँपालिकाद्वारा आयोजित अन्तर बाल क्लब हाजिरी जवाफ प्रतियोगितामा छोट्की रामनगर माध्यमिक विद्यालय प्रथम भएको छ । गाउँपालिका स्तरका बाल क्लबबीच आयोजित हाजिरी जवाफ प्रतियोगितामा ठुठिपिपल माध्यमिक बिद्यालय द्वितिय, जन जागृति माध्यमिक विद्यालय करुवानी तृतिय भएको छ । प्रतियोगितामा कोटही आधारभूत विद्यालय सान्त्वना, पट्खौली माध्यमिक विद्यालय पाँचौं र दशरथ जनता माध्यमिक विद्यालय बसन्तपुर छैठौं भएको पालिकाका शिक्षा शाखा प्रमुख हरिप्रसाद पोखरेलले बताए । विजयी विद्यालयका विद्यार्थीलाई विभिन्न पुरस्कार प्रदान गरिएको थियो ।

Advertisement

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मञ्जितकुमार यादव (सोनु)ले बाल सहभागिताको दृष्टिकोणबाट कार्यक्रम तर्जुमा गर्दा उनीहरूको साथमा बसेर कार्यक्रमको उद्देश्य बारे छलफल गर्नु पर्ने बताए । ‘जबसम्म हामीभित्रको सोचमा परिवर्तन हुन सक्दैन, यसको सार्थकता त्यति हुन सक्दैन’, उनले भने, ‘यसका लागि केन्द्रदेखि स्थानीय तहसम्मका यस क्षेत्रमा क्रियाशील बालअधिकारकर्मी, गैरसरकारी संस्थाहरू, सरकारका विभिन्न निकायहरू, मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति लगायतका निकायहरू बीचमा पनि यसको सैद्धान्तिक पक्षका बारेमा छलफल हुनु जरुरी छ ।’

गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले बालविकासमा सहयोग पुग्ने गरि ओमसतियाले पनि आफ्ना कार्यक्रमहरु अगाडि बढाएको बताइन् । बालबालिकाको लागि गाउँपालिकाले बजेट बिनियोजनमा प्राथिमकता दिएको उनले दावी गरिन् । उनले गाउँपालिकालाई बालमैत्री स्थानीय शासन गाउँपालिकाको रुपमा घोषणा गर्नेतर्फ उन्मुख रहेको र यसका लागि सबैको सहकार्य आवश्यक रहेको जनाइन् ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतम, वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश सिंह चौधरी, वडा नम्बर ४ का वडाध्यक्ष अखिलेश्वर पाण्डे, बिभिन्न विद्यालयका प्रधानअध्यापक, शिक्षकहरुको उपस्थिति थियो । महिला तथा बालबालिका शाखा प्रमुख निर्मला पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।