September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

सामूहिकद्वारा ३६ बालबालिकालाई शैक्षिक सामग्री वितरण

भैरहवा– ५८औं राष्ट्रिय बाल दिवसको अवसरमा सामूहिक विद्यालय परिवार, रूपन्देहीले विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

Advertisement

सामूहिक विद्यालय परिवारअन्तर्गतका विद्यालयहरुमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई बुधबार भैरहवामा एक कार्यक्रमबीच शैक्षिक सामग्री वितरण गरिएको अध्यक्ष उदयकुमार मल्लिकले जानकारी दिए ।

अध्यक्ष मल्लिकका अनुसार परिवारमा १८ ओटा विद्यालय आवद्ध छन् । यी विद्यालयमा अध्ययनरत ३६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । प्रत्येक विद्यार्थीलाई एक दर्जन कापी, ज्यामती बक्स, पेन्सिल, जेलपेन, कलरलगायत एक हजार बराबरको सामान वितरण गरिएको मल्लिकले जनाए ।

कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष बिष्णु पन्थीले बालबालिकालाई समान रुपमा व्यवहार गर्नु पर्छ भन्ने नारा भए पनि त्यो उद्देश्य अनुरुप कार्यान्वयन नभएको बताए । उनले यसतर्फ राज्यले विशेष ध्यान दिन जरुरी रहेको जनाए ।

अध्यक्ष मल्लिकले अझै पनि बालबालिकाहरू शिक्षाको पहुँच भन्दा बाहिर रहेकाले सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन राज्यले पहल गर्नु पर्ने बताए । ‘हामी निजी विद्यालय र हाम्रो छाता संगठनले सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने बेलाबखत विभिन्न कार्यक्रम गर्दै आएका छौं’, उनले भने, ‘यसमा राज्य पनि विशेष तरिकाले लाग्यो भने शिक्षाको पहुँच बाहिर कोही बालबालिका बस्नु पर्दैन ।’