December 10, 2024, Tuesday
२०८१ मंसिर २५

पश्चिम तराईका थारू समुदाय अटवारी पर्व मनाउँदै

पश्चिम तराईका थारू समुदायले आइतबार विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदै छन् । यो पर्व उनीहरुका लागि तीजजस्तै हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने र आज (आइतबार) बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन छ ।

थारू अगुवा सीता चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि ‘अग्रासन’ (दिदी–बहिनीका लागि छुट्याइने परिकार) छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ । 

Advertisement

व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याई अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । आफ्ना दिदीबहिनीलाई फलफूल र रोटीमात्र खाने र दोस्रो दिन बिहान भात, तरकारी पकाइ भात तरकारीको अग्रासन दिने गरेको बेदकोट नगरपालिकाका सेटसिंह चौधरीले बताए । 

थारू अगुवाका अनुसार अटवारी पर्व ऐतिहासिक घटनासँग जोडिएको छ । दाङका थारू राजा दङ्गीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थारू राजा दङ्गीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो । पाँच पाण्डव र द्रोपदी सबै सुर्खेतको काँक्रेविहारमा घुम्ने बेला दाङका थारू राजा दङ्गीशरणको राज्यमा शत्रुहरूलाई आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर पाँच पाण्डवमध्ये भीम भोकै पेट पानीसमेत नखाई राजा दङ्गीशरणको पक्षमा लडेका थिए ।

भीमले राजा दङ्गीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारू समुदायले अटवारी मनाउँदै आएका छन् । थारू समुदायको यो पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।