September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

नेविसंघद्वारा त्रिवि व्यवस्थापन संकाय डीनको कार्यालयमा तालाबन्दी

नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयमा तालाबन्दी गरेको छ । सोमबार विहान उपत्यकाका विभिन्न क्याम्पसका नेताहरुले व्यवस्थापन संकाय डिन डिल्लीराज शर्माको राजीनामा माग गर्दै कार्यालयमा तालाबन्दी गरेका हुन् । 

Advertisement

असार २२ गते मात्रै बीबीए छैटौं सेमेस्टरको ‘एमजीटी २०३ स् अर्गनाइजेसन बिहाभियर’को प्रश्नपत्र मोर्डन कलेजको ‘प्रिबोर्ड’ परीक्षाको प्रश्नसँग हुबहु मिलेपछि नेविसंघले डीनको राजीनामा मागेको छ ।

Advertisement

यसअघि नेविसंघका अध्यक्ष दुजाङ शर्माले एक विज्ञप्ति जारी गर्दै नैतिकताका आधारमा राजीनामा दिन माग गरेका थिए । त्रिविले आइतबार मात्र हुबहु प्रश्नपत्र प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविन समिति बनाएको छ । तर नेविसंघले डिन डिल्लीराज शर्माले राजीनामा दिनुपर्ने सर्त राखेर आन्दोलन थालेको हो । 

उपत्यकामा विभिन्न क्याम्पसका नेताहरु मदनराज उपाध्याय, विवेक लामा घिसिङ, केशरजंग बम, विष्णु बडेला, अशोकसिंह विष्ट, दीर्घराज भट्ट, हरिश देउवा, लक्ष्मण भाट, सुस्मा पाण्डे, श्याम ओझा, किशोर जोशी, निराजन सुवेदी लगायतले आइतबार विहान शर्माको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । शर्माले राजीनामा नदिएसम्म डीनको कार्यालयमा लगाइएकाे ताला नखुल्ने नेविसंघका नेता उपाध्यायले बताए ।