December 5, 2024, Thursday
२०८१ मंसिर २०

युवाहरुलाई उद्यशीलता र नेतृत्व तहमा जोड्नुपर्नेमा जोड

भैरहवा– युवाहरुलाई उद्यशीलता र नेतृत्व तहमा जोड्नुपर्नेमा सरोकारवाला र स्वयम् युवाहरुले जोड दिएका छन् । उनीहरुले उद्यमी बन्न चाहाने युवाहरुलाई सरकारले त्यस किसिमको वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे । बुधबार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद्, सानोठिमी, भक्तपुरको आयोजना तथा प्लान इन्टरनेशनलको सहकार्यमा भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।

अन्तरक्रियामा बोल्दै परिषदका बोर्ड सदस्य संदीप सापकोटाले पछिल्लो समय हरेक क्षेत्रमा युवाहरुको सहभागिता बढिरहेको बताउँदै यो सकारात्मक विषय भएको बताए । उनले युवालाई सीपयुक्त, उद्यमी, नेतृत्वकर्ता र हरेक क्षेत्रमा अगाडि बढाउन परिषदले सहयोग गर्दै आएको जनाए । उद्यमी बन्न चाहाने युवाहरुका लागि सरकारले सहुलियतपूर्ण ऋण लगानीदेखि छुट र पेसासम्बन्धी तालिमहरु संचालन गरिरहेको बताउँदै सबै युवा गोलबद्ध भएर समाज र मुलुकको लागि योगदान गर्नुपर्नेमा जोड उनले दिए ।

Advertisement

राष्ट्रिय युवा परिषद् लुम्बिनी प्रदेश उपाध्यक्ष संजीव बस्यालले प्रदेशका १०९ वटै स्थानीय तहमा संजाल विस्तार गरेर युवाहरुको भूमिका र नेतृत्व क्षमतालाई प्रभावकारी बनाउँदै लैजाने जनाए । उनले स्थानीय तह निर्वाचनमा धेरै युवाहरु नेतृत्व तहमा पुगेको प्रशंग उल्लेख गर्दै यो निकै सुखद् पक्ष भएको बताए । अन्तरक्रियामा बोल्ने युवाहरुले बैंकबाट सहज ऋण नपाएको, परिषद्ले अझै प्रभावकारी काम गर्नुपर्ने बताएका थिए ।

यस्तै, युवाहरुले आगामी दिनमा युवा लक्षित कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै गाउँगाउँमा लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न सरकारी कार्यालयका युवा फाँटका अधिकृतहरु, वडाध्यक्षहरु र परिषद्का पदाधिकारी एवं सदस्यहरु र स्थानीय युवाहरुको सहभागिता थियो ।