May 29, 2022, Sunday
१५ जेष्ठ २०७९, आईतवार

सामाजिक संजालको विकृतिले पत्रकारिता बद्नाम

भैरहवा- फेसबुक, युटुब, ट्वीटर जस्ता सामाजिक संजाल पत्रकारिता क्षेत्र अन्तर्गत पर्छन् की पर्दैनन् ? पत्रकार पनि आफ्नो आचारसंहिता भन्दा बाहिर गएर राजनीतिक दल र नेताको झोले कार्यकर्ता बनेपछि पत्रकारिता क्षेत्रमा कस्तो असर पारेको छ ? सूचना विभागले पत्रकारलाई उपलब्ध गराउने गरेको प्रेस कार्ड कस्ता-कस्ता खालको व्यक्तिले पाएका छन् ? यस विषयमा सरोकारवाला निकायबीच खुलेर बहस भएको छ ।

Advertisement

निर्बाचन आयोगले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजना गरेको लुम्बिनी प्रदेशका पत्रकार तथा संचारकर्मीलाई मिडिया अभिमुखिकरण कार्यक्रममा यस खालको विषयले राम्रो बहसको स्थान पायो । आसन्न निर्बाचनको माहोल तयार गर्न र निर्बाचन आचारसंहिताको कार्यान्वयन प्रभावकारी बनाउन निर्बाचन आयोगले यो कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा सहभागी अधिकांशले पछिल्लो समयमा फेसबुक, युटुब, ट्वीटर चलाउने व्यक्तिले आफू अनुकुलको विषय सामाग्री पोष्ट गर्दा त्यसको असर सिंगो पत्रकारिता जगतले सामाना गर्नु परेको बताए । सूचना आयोगको पूर्व आयुक्त तथा पत्रकार यशोदा तिम्सिनाले सोशल मिडियाको माध्यम र युटुब चलाउनेले आफूलाई पत्रकारकै श्रेणीमा राखेपछि अनेक समस्या आउन थालेको बताइन् ।

पछिल्लो समयमा मिथ्या, दुष्प्रभाव र घृणास्पद खालको सूचना सोशल मिडियाको माध्यम र युटुब चलाउनेबाट आउन थालेको बताइन् । ‘सोसल मिडियालाई पत्रकारितामा राखेको छैन’, तिम्सीनाले भनिन्, ‘यस वारेमा अव राज्यले नै स्पष्ट पारिदिनु पर्यो की कुन पत्रकारिता हो र कुन पत्रकारिता होइन ।’

स्वयम् पत्रकार पनि पत्रकार कम र नेता तथा दलका कार्यकर्ता बढि हुन खोज्दा स्वयम् पत्रकार समस्यामा पर्ने गरेको र यस खालको प्रबृत्तिले सिंगों पत्रकारिता क्षेत्र नै बदनाम हुन थालेको उनले बताइन् । पछिल्लो समयमा अनलाइन पत्रकारिता मौलाउँदै जान थालेसंगै भ्रामक र मिथ्या समाचार पनि आउन थालेको भनाइ उनको थियो । हाल नेपालमा ३ हजार ४ सय जती अनलाइन पत्रिका संचालन भैरहेको र अनलाइन पत्रिकामा देखा परेका विभिन्न बिकृति र बिसंगती पाँच बर्ष भित्र अन्त्य हुने दावी उनले गरिन् ।

नेपाल पत्रकार महासंघकी सचिव सिर्जना अर्यालले पनि युटुब र पेससबुककर्ताबाट मिथ्या र आफू अनुकुलको समाचार आउने गरेकोले त्यसको मारमा पत्रकार पर्ने गरेको बताइन् । अभिमुखिकरण कार्यक्रममा बोल्दै निर्बाचन आयोगका आयुक्त सगुन सम्शेर जबराले नजिकिँदो स्थानीय तहको निर्बाचन र त्यसपछिका हुने निर्बाचनलाई स्वच्छ, मर्यादित र निर्बाचन आचारसंहिताको पालनालाई प्रभावकारी बनाउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताए ।

‘पत्रकार पनि आफ्नो आचारसंहिता भित्र रहेर अरुको आचारसंहिताको अनुगमन गर्नु पर्छ’, आयुक्त जबराले भने, ‘निर्बाचन प्रकृयालाई प्रभावकारी बनाउन अन्य सरोकारवाला निकायको भन्दा मिडियाको भूमिका अझ माथि छ ।’ मिडिया पहिला आफू निष्पक्ष रहि बास्तविकमा रहेर समाचार सम्प्रेषण हुन जरुरी रहेको भनाइ उनको थियो ।

निर्बाचनको बेला मिडियाको अनुगमनका लागि प्रेस काउन्सिललाई जिम्मा दिइएको र अनलाइनको अनुगमन गर्न साइबरक्राइमसहितको एउटा कार्यदल गठन गरिएको आयोगले जनाएको छ । यस अन्तर्गत विभिन्न भ्रामक, तथ्यहिन, समाजिक सद्भाव भड्काउने र अन्य दल तथा उमेदवारमाथि चरित्रहत्या तथा मनगणन्ते खालका अभिव्यक्ति पोष्ट गर्ने सामाजिक संजालकर्ताको पनि अनुगमन हुने छ ।

कार्यक्रममा सहभागी अधिकांशले सूचना विभागले पत्रकारलाई दिने गरिएको कार्ड गैरपत्रकारलाई पनि उपलब्ध भएकाले पत्रकारिता क्षेत्रको बद्नामी भएको बताए । यस्तो कार्ड हात पारेका गैरपत्रकारले राज्यबाट पत्रकारलाई उपलब्ध गराउने गरेको सुबिधा भोग गर्ने गरेको भनाइ उनीहरुको थियो ।

नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष रामराज पोखरेलले निर्बाचनको वेला खटिने गरेको पुरातनबादी सोंच भएका कतिपय कर्मचारीका कारण वास्तविक सूचना पत्रकार समक्ष नआउने र पत्रकारका लागि भनेर उपलब्ध गराइने सवारी पास लगायतका सुविधा बास्तविक पत्रकार भन्दा फेसबुक र युटुब चलाउने वालाले प्राप्त गर्ने गरेको बताए । निर्बाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले पनि निर्बाचनसंग सम्बन्धित समाचार संकलन र रिपोर्टिङ र आचारसंहिताका वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।