May 16, 2022, Monday
२ जेष्ठ २०७९, सोमबार

मानव मस्तिष्कभित्र सात सय जुका भेटियो

छारेरोगका कारण अस्पताल भर्ना गरिएका एक ४६  वर्षिय चिनिया पुरुषको मस्तिष्कमा सयौं जुका भेटिएको छ । सम्भवत राम्ररी नपकाइएको सुँगुरको मासु खाएकै कारण उनलाई सो समस्या भएको अनुमान गरिएको छ ।
 
झेजियाङ युनिभर्सिटीस्थित फर्स्ट एफिलेटिड हस्पिटल अफ कलेज अफ मेडिसिनका डाक्टरहरूले एमआरआई गर्दा उनको मस्तिष्कमा सात सयवटा जुका फेला पारेका हुन् । सीएनएन र चाइनिज न्युज साइट पियर भिडियोले यस्तो समस्यालाई न्युरोसाइस्टिसिरोसी बताइने गरेको जनाएका छन् । 

निर्माण क्षेत्रका कामदार तथा चीनको वुहान सहर निवासी ति पुरषलाई टाउको दुख्ने र शरीर काम्ने समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।
 
उनले आफूले सुंगुर र खसीको मासु तथा सागसब्जीसहितको हटपट खाने गरेको र शायद खाना राम्ररी नपाकेको हुनसक्ने डाक्टरहरूलाई बताएका छन् ।
 
सो परिकार रातो मसलाले छोपिने हुनाले आफूलाई खाना पाकेको वा नपाकेको यकिन पनि नभएको उनको भनाइ छ । थप स्क्यानिङपछि उनको छाती र फोक्सोमा पनि जुका फेला पारिएको थियो ।

डाक्टरहरूले उनको सफल उपचार गरका छन् । तर, उनको दीर्घकालसम्म स्वास्थ कस्तो हुने हो भन्नेबारे केही बताइएको छैन । विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले जुकाको अन्डा खानामार्फत मानव मस्तिष्कमा प्रवेश गर्ने तथा उपचार नगरिएको अवस्थामा ती अण्डा कोरलिएपछि मस्तिष्कमा दुईदेखि तीन वर्षसम्म बाँच्ने जनाएको छ । 

Advertisement