March 18, 2025, Tuesday
२०८१ चैत्र ५

योगी आदित्यनाथ दोस्रो कार्यकालको लागि मुख्यमन्त्रीको सपथ लिँदै

योगी आदित्यनाथले भारत उत्तर प्रदेशको मुख्यमन्त्रीको सपथ शुक्रबार लिँदैछन्। हालै सम्पन्न विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) विजयी भएपछि योगीले उत्तर प्रदेशमा दोस्रो कार्यकाल सुरु गर्न लागेका हुन्।

लखनउको इकाना रंगशालामा स्थानीय समयअनुसार दिउँसो ४ बजे सपथग्रहण समारोह हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सपथग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि हुने छन्।

Advertisement

समारोहमा मध्य प्रदेश, हरियाणा, मणिपुर, हिमाञ्चल प्रदेश, त्रिपुरा, गोवा, असम, गुजरात, अरुणाचल प्रदेश, उत्तराखण्ड र कर्नाटकका मुख्यमन्त्री पनि सहभागी हुनेछन्। यस्तै अरुणाचल प्रदेश र नागाल्याण्डका उपमुख्यमन्त्री पनि सपथग्रहण समारोहमा सामेल हुनेछन्।

यस्तै केन्द्र सरकारका मन्त्रीहरु पनि योगी दोस्रोपटकको सत्तारोहण समारोहमा जाने छन्। गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहसहित २५ केन्द्रीय मन्त्री सपथग्रहण समारोहमा जाने भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।