March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

लुम्बिनी प्रेस क्लबद्वारा पत्रकारिता पुरस्कार मूल्यांकन समिति गठन

भैरहवा– लुम्बिनी प्रेस क्लबले ‘भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कारसहित अन्य विभिन्न पुरस्कार व्यवस्थापन तथा मूल्यांकनका लागि समिति गठन गरेको छ ।

Advertisement

प्रेस क्लबका अध्यक्ष नरेश केसीको अध्यक्षतामा बसेको बैठकले बरिष्ठ पत्रकार नारायणप्रसाद सापकोटाले आफ्नी ममतामयी माता स्वर्गिय भुवनकुमारी सापकोटाको सम्झनामा स्थापित ‘भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार’ मूल्यांकन समितिको संयोजकमा कान्तिपुर दैनिकका लुम्बिनी प्रदेश संयोजक दीपेन्द्र बडुवाललाई संयोजक चयन गरेको छ ।

Advertisement

यो लुम्बिनी प्रदेशकै पर्यटन क्षेत्रको सबैभन्दा ठूलो राशिको पुरस्कार हो । पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ । उक्त पुरस्कार यस अघि दीपेन्द्र बडुवाल र कमल रायमाझीले प्राप्त गरिसकेका छन् ।

मूल्यांकन समितिको संयोजक बडुवालले पुरस्कारले पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रोत्साहन मिल्दै आएको बताए । उनले निष्पक्षतामा रही आफ्नो नेतृत्वको टिमले पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कार प्रदानका लागि सिफारिस गर्ने जनाए ।

बैठकले उक्त समितिको सदस्यमा लुम्बिनी प्रेस क्लबका महासचिव कमल रायमाझीलाई चयन गरेको छ । पुरस्कार मूल्यांकन समितिको सदस्यमा बरिष्ठ पत्रकार एवं पुरस्कार स्थापनाकार सापकोटा स्वतः सदस्य रहने व्यवस्था छ । समिति संयोजक बडुवालले पर्यटन क्षेत्रको विषय विज्ञलाई पनि मूल्यांकन समितिमा छिट्नै चयन गरिने बताए ।

यसैगरी क्लबको बैठकले सिद्धार्थनगर नगरपालिकाको सहकार्यमा स्थापित पत्रकारिता पुरस्कार संयोजनका लागि सचिव शंकरप्रसाद पाण्डेलाई जिम्मेवारी दिने निर्णय गरेको छ । यस्तै, उद्योग व्यापार संगठन (सिद्धार्थ च्याम्बर अफ कमर्स) पुरस्कारका लागि सल्लाहकार कुलमणि ज्ञवालीलाई प्रदान गर्ने, शिक्षा पत्रकारिता पुरस्कारका लागि रबिन्द्र गुप्तालाई र लायन्स पत्रकारिता पुरस्कारको संयोजनका लागि महासचिव कमल रायमाझीलाई संयोजन गर्ने जिम्मेवारी दिएको क्लबका कोषाध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिए ।

यसैगरी बैठकले आगमी मंसिर २५ गते साधरणसभा सम्पन्न गर्ने र उक्त कार्यका लागि महासचिव कमल रायमाझीलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ ।