December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

पूर्वसभासद् कुर्मीलाई पक्राउ गर्न माग गर्दै दैनिक धर्ना

भैरहवा– बाँकेका परस्पुरकी निर्मला कुर्मी वेपत्ता प्रकरणका आरोपित पूर्वसभासद् बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै अधिकारकर्मीले जिल्ला प्रशासनमा दैनिक धर्ना दिइरहेका छन् ।

Advertisement

मुख्य आरोपीलाई प्रशासनले संरक्षण गरेको भन्दै अधिकारकर्मीले धर्ना दिइरहेका हुन् । अधिकारकर्मीले घटना छानबिनका लागि सरकारले पछिल्लो पटक गठन गरेको छानबीन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्नुका साथै कार्यान्वयनको माग उठाएका छन् ।

प्रशासनले उक्त घटनाका मुख्य आरोपी कुर्मीलाई जोगाएकाले न्याय माग्दै धर्नामा बस्नुपरेको बाँकेकी मानव अधिकारकर्मी रुबी खानले बताइन् । धर्ना बसेका महिलाहरुले प्रधानमन्त्री र गृहमन्त्रीको फोटो बोकेको प्लेकार्ड बोकेर न्यायका लागि कलम चलाइदिन आग्रह गरेका छन् ।

उनीहरुले सरकारले गठन गरेको छानबिन समितिको निष्कर्ष अनुसार कारबाही प्रक्रिया अघि नबढेको भन्दै प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका छन् । ‘निर्मला कुर्मी घटनाको छिटोभन्दा छिटो सुरुदेखि अनुसन्धान गरी सत्य, तथ्य सार्वजनिक गरियोस्,’ अधिकारकर्मी खानले भनिन, ‘पुरानै प्रमाणलाई आधार मानेर काम भइरहेको छ । नयाँ शिराबाट अनुसन्धान गरिनुपर्छ भन्ने हाम्रो माग छ ।’

अधिकारकर्मीको दबाबपछि जिल्ला प्रहरी कार्यालय बाँकेले घटनामा संलग्न ७ जनालाई पक्राउ गरेको थियो । पूर्व सभासद बादशाहलाई समात्न कानूनी आधार नभएको प्रहरीको भनाई छ । बादसाह पहिल्यै बयान दिएर हाजिरी जमानीमा छुटेकाले पक्राउ गर्न नमिल्ने प्रहरीले जनायो ।