December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

बौद्ध विश्वविद्यालय र फाउण्डेसनबीच एकअर्का देशका विद्यार्थी पठनपाठन गर्ने सहमति

लुम्बिनी– राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका विश्वविद्यालयको शिक्षा विश्वमा पहिचान हुनेगरी प्रतिष्पर्धी हुनुपर्ने बताएका छन् । मुलुकमा विश्वविद्यालयको संख्या बढ्दै गए पनि गुणस्तरीयतामा प्रश्न उठिरहेको भन्दै उनले विश्वविद्यालयहरुले शैक्षिक विकासमा विशेष ध्यान दिनुपर्ने बताए ।

Advertisement

लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित विश्वविद्यालय र स्पेनको संस्था लुम्बिनी गार्डेन फाउन्डेसनबीचको सहकार्य सम्झौतामा हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले मुलुकको जेठो विश्वविद्यालयले गर्न नसकेको काम बौद्ध विश्वविद्यालयले गर्नुपर्ने बताए ।

‘हामी आफूले पढ्ने विश्वविद्यालयका नाम सुन्दा नाक खुम्च्याउने अवस्था हुनुहुँदैन’, उनले भने, ‘जेठो विश्वविद्यालयले गर्न नसकेका कामहरु बौद्ध विश्वविद्यालयले गर्न खोजिरहेको छ । यसलाई निरन्तरता दिनुपर्छ ।’ विश्वमा नाम चलेका विश्वविद्यालयको सूचिमा बौद्ध विश्वविद्यालय आउनु्पर्ने उनले बताए । त्यसका लागि प्राध्यापक–शिक्षकले चासो दिनुपर्ने बताए ।

पूर्वीया मुलुकमा अहिले बौद्ध दर्शन अध्ययन गर्ने परिपाटीको विकास भइरहेको सन्दर्भमा ती अध्येताहरुलाई बुद्ध जन्मेकै स्थानमा पढाउने व्यवस्था गर्न जरुरी रहेको उनले बताए । बुद्ध दर्शन सबैको साझा रहेको उनले बताए । साझा दर्शनलाई धर्ममा मात्रै नजोडेर विश्वभर शान्ति र अहिंसाको सन्देश प्रवाह गर्ने माध्यम बनाउन जरुरी रहेको उनले बताए ।

अध्यक्ष तिमिल्सिनाले विश्वविद्यालयमार्फत शैक्षिक उन्नयनका काम गर्नका लागि उपकुलपति, रेक्टर, रजिष्ट्रारहरु सक्रिय हुनुपर्ने बताए । ‘नियुक्ती लिएर पद पाउनु मात्रै ठूलो कुरा होइन, उपकुलपति भएपछि विश्वविद्यालयले के स्वरुप पायो भन्ने महत्वपूर्ण कुरा हो’, उनले भने । लुम्बिनी बौद्ध विश्वविद्यालयले शिक्षक तथा विद्यार्थीमार्फत बौद्ध दर्शनको प्रवद्र्धनमा काम गर्नुपर्ने सुझाव उनले दिए ।

स्पेनको संस्थासंगको सहकार्य सम्झौता बौद्ध शिक्षा पर्वद्धन र विकासका लागि कोशेढुंगा सावित हुने विश्वास उनले गरे । पश्चिमाहरु जसरी बौद्ध दर्शनप्रति स्वतस्फूर्त लागेका छन्, त्यसलाई बुद्ध जन्मस्थलले उपयोग गर्ने तरिकाले काम गर्नुपर्ने उनले बताए । त्यसो हुँदा पर्यटनमार्फत आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने उनको भनाई थियो ।

सो कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी गार्डेन फाउन्डेसनबीच आपसी सहकार्य पत्रमा हस्ताक्षर भएको छ । विश्वविद्यालयकातर्फबाट उपकुलपति प्रा.डा. हृदरत्न बज्राचार्य र रजिष्ट्रार डा. तिलकराम आचार्य तथा फाउन्डेसनकातर्फबाट अध्यक्ष जोशे म्यानुएल भिलानोभा र उपाध्यक्ष गोविन्द सुवेदीले हस्ताक्षर गरे ।

दक्ष जनशक्ति उत्पापदन, पर्यटन प्रवद्र्धन, स्पेनिस र नेपाली भाषा एकअर्का देशका विद्यार्थीमा पठनपाठन, प्राज्ञिक व्यक्तित्वबीच शैक्षिक प्रवद्र्धन कार्यक्रम, आर्थिक अनुदान लगायतका उद्देश्यहरु सहमति पत्रमा उल्लेख गरिएको छ । सहकार्य पत्रमा हस्ताक्षरले विश्वविद्यालयले फाउन्डेसनमार्फत स्पेन र युरोपमा सम्बन्ध विस्तार गर्ने विश्वास विश्वविद्यालयका अन्र्तराष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक डा. सन्जिव हुमागाईले बताए ।

सो अवसरमा बोल्दै विश्वविद्यालयका उपकुलपति बज्राचार्यले विश्वविद्यालयले दश वर्षे रणनीति तय गरिहरको भन्दै यसले आगामी दिसा निर्दिष्ट गर्ने बताए । कोर बुद्धिष्ट फिलोसोफिलाई सीप विकासमा प्रयोग गर्ने गरी अहिले विश्वविद्यालयले पठनपाठन गराइरहेको उनले बताए ।

फाउन्डेसनका अध्यक्ष जोशे म्यानुएल भिलानोभाले विश्वविद्यालयसंग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै बौद्ध दर्शन र शिक्षाको विकासमा सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । फाउन्डेसनले भैरहवा विमानस्थलमा साढे दुई अर्बको बुद्धमूर्ति राखेर काम थालेको बताउँदै शिक्षाका क्षेत्रमा पनि काम हुने उनले बताए ।

सो अवसमार बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले फाउन्डेसनले बुद्ध स्थलको प्रर्वद्धनमा महत्वपूर्ण काम गरेको भन्दै विश्वविद्यालयसंगको सहकार्यले थप टेवा पुग्ने बताए । उनले विश्वविद्यालयलाई विश्वका हरेक क्षेत्रबाट अध्ययन गर्न आउने थलोका रुपमा विकास गर्नसकिने उनले बताए ।