December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

विश्व विज्ञान दिवस मनाइँदै

आज विश्वभरि शान्ति र विकासका लागि विज्ञान दिवस मनाँइदैछ । वर्षेनि १० नोभेम्बरमा विश्वभर शान्ति र विकासका लािग विश्व विज्ञान दिवस मनाइने गरिन्छ ।

Advertisement

हाम्रो समाजमा विज्ञानको महत्त्वपूर्ण भूमिका र पछिल्लो समय निस्किएका विभिन्न वैज्ञानिक मुद्दाहरुको बहसमा व्यापक संलग्नता होस् र हाम्रो जीवनलाई विज्ञानले थप सहज बनाओस् र यसको प्रभावबारे बुझ्न सहज होस् भन्ने हेतुले संयुक्त राष्ट्र संघले यो दिवस मनाउन सुरु गरेको हो ।

Building climate-ready communities भन्ने नाराका साथ दिवस मनाइँदै छ । विज्ञानको प्रभाव, विज्ञानको प्रगति र यसको विकासले हाम्रो समाजमा पार्न सक्ने प्रभाव, यसको आवश्यकताबारे सबैजना सूचित हुनुपर्छ भन्ने संयुक्त राष्ट्र संघले सोच विकास गर्दै आएको छ । त्यसैले हाम्रो समाजलाई विज्ञान सँगसँगै र यसलाई महत्त्वपूर्ण पक्ष बनाएर अगाडि बढोस् भन्ने चाहना आफ्नो रहेको राष्ट्र संघले यसअघि बताउँदै आएको छ ।

यसका साथसाथै विभिन्न देशहरुबीच वैज्ञानिक विकास र सोचमा एकरुपता होस् र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एकता बढावा होस् भन्ने चाहना पनि यो दिवस मनाउनुको एक कारण हो । सामाजिक लाभका लागि विज्ञानको प्रयोग, विज्ञानको उपयोगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु नवीकरण होस्, विज्ञानले सामना गरिरहेका चुनौतिहरुमा ध्यान जाओस् र वैज्ञानिक प्रयासका लागि समर्थन जुटाउनु शान्ति र विकासका लागि विश्व विज्ञान दिवसका उद्देश्य हुन् ।

यो दिवस मनाउन सुरु गरिएको चाहिँ सन् २००१ देखि हो । युनेस्कोले शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाउन सुरु गरेपछि विभिन्न वैज्ञानिक परियोजना तथा कार्यक्रमहरु पारित भएका छन्, सफल भएका छन् । युद्ध ग्रसित क्षेत्रका वैज्ञानिकहरुलाई विश्वका अरु वैज्ञानिकसँग संगठित गर्दै लैजानु पनि आजको दिवसको एक उद्देश्य हो । हामी जन्मिएको यो वैज्ञानिक युगमा विज्ञानले शान्ति र विकासका लागि पुर्याउने योगदान अतुलनीय छ ।