December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

स्वास्थ्य मापदण्ड अपनाएर मात्रै रुपन्देहीमा देउसी भैलो

भैरहवा– रुपन्देहीमा तिहारमा स्वास्थ्य मापदण्ड अपनाएर देउसी भैलो खेल्न अनुमति दिइने भएको छ । कोरोना महामारी फैलिन सक्ने जोखिम अझै पनि कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले दिउँसोमा मात्रै स्वास्थ्य मापदण्ड पालना गरेर देउसी भैलो खेल्न अनुमति दिने गरी तयारी गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले केही दिनमै यसबारे औपचारिक रुपमा आदेश जारी गर्ने जनाए । ‘जिल्लामा अहिले पनि कोरोनाको जोखिम कायम नै छ’, उनले भने, ‘पराम्परागत रुपमा मनाइने चाडपर्व धेरै भिडभाड नगरी सामान्य रुपमा मनाउन दिने सूचना जिल्ला प्रशासनले यस अघि नै जारी गरी जानकारी गराएको छ ।’

देउसी भैलो खेल्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्ने प्रशासनले जनाएको छ । ‘देउसी खेल्दा भौतिक दूरी समेत कायम गर्नुपर्नेछ’, उनले भने । दिउँसोको समयमा देउसी भैलो खेल्न दिने भए पनि रातको समयमा भने पूर्ण रुपमा प्रतिबन्ध गरिने प्रशासनले जनाएको छ । जिल्ला प्रशासनले कति बजेसम्म देउसी भैलो खेल्न पाउने भन्ने विषयमा १–२ दिनमा औपचारिक रुपमा निर्णय गर्ने तयारी गरेको छ ।

Advertisement