December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

ठूलो परिणाममा पटका बरामद गरी नष्ट

भैरहवा– रुपन्देही प्रहरीले ठूलो परिणाम पटका बरामद गरी नष्ट गरेको छ । जिल्लाका विभिन्न नाका हुँदै भारतबाट मुलुक भित्र्याइएका करिब ७ लाख मूल्यका पटका बरामद गरी नष्ट गरिएको हो । जिल्ला प्रहरीले सोमबार परिसरमा पत्रकार सम्मेलन गरेर बरामद पटका पानीमा डुवाएर निष्कृय गरी खाल्डोमा पुरेको छ ।

Advertisement

अघिल्लो हप्ता पनि करिब तीन लाख मूल्यका पटका बरामद गरी नष्ट गरिएको थियो । ‘एक हप्ताको अन्तरालमा १० लाख मूल्य बराबरका पटका नष्ट गरिएको छ’, रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले भने, ‘चाडपर्वमा पड्काउनका लागि प्रतिबन्धित पटका प्रत्येक वर्ष नेपाल भित्र्याइन्छ, यसलाई प्रहरीले रोक्ने गरेको छ ।’

डीएसपी थापाकाअनुसार विभिन्न क्षेत्रमा रहेका प्रहरी चौकीले आइतबार पटाका बरामद गरेका थिए । जिल्ला प्रहरीले १ लाख १६ हजार, प्रहरी चौकी मेउडिहवाले १ लाख ४५ हजार ५ सय, प्रहरी चौकी मैनिहवाले ९१ हजार, इलाका प्रहरी मंगलापुरले ८३ हजार ४ सय १६, इलाका प्रहरी लुम्बिनी र मातहतले ८१ हजार बराबरको पटका बरामद गरेको छ ।

यस्तै, इलाका प्रहरी बेलहियाले ३५ हजार, इप्रका मर्चवारले २२ हजार पाँच सय, खैरेनीले २१ हजार, गुलरिया चौकीले १० हजार, कालीदहले १४ हजार र मर्यादपुरले ५० हजारको पटका बरामद गरेका थिए । खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट दिपावलीमा सधैजसो प्रतिबन्धित पटका नेपाल भित्रिने गरेको प्रहरीले जनाएको छ ।