December 2, 2021, Thursday
१६ मंसिर २०७८, बिहीबार

स्वामी श्रीनिश्चलानन्द आज भैरहवा आउँदै

भैरहवा – हिन्दू धर्मका गुरु जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्द आज भैरहवा आउँदै छन् । यहाँ आयोजना गर्न लागिएको धर्मसभालाई सम्बोधनका लागि स्वामी श्रीनिश्चलानन्द आउन लागेका हुन् ।

Advertisement

भैरहवामा ब्यासमुनि आचार्यले वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवजारको विशेषता, पहिचान र सम्मान कायम गर्न नेपालको संविधानमा सनातन हिन्दू धर्म सापेक्षेताको पहिचान पुनःस्थापित गर्ने ध्ययेले धर्मसभा आयोजना गरिएको हो ।

भैरहवाको महेन्द्रसभा गृहमा हुने धर्मसभामा सहभागी हुनेगरी नेपालका सनातन धर्म तथा ओमकार परिवारका विद्वान भैरहवा आइपुगेको धर्मसभा मूल आयोजक समितीका संदस्य ब्यासमुनि आचार्य किशोर गौतमले बताए ।

गौतमका अनुसार समस्त ओमकार परिवारबीच एकता कायम गर्नेगरी राष्ट्र, राष्ट्रियता, स्वधर्म र स्वसंस्कृतिको रक्षाका लागि एकजुट भई विश्व ओमकार एकता महाअभियानको सिलसिलामा धर्मसभाको आयोजना गरिएको हो ।

ओमकारमूलक पन्थ, सम्प्रदाय, सङ्घसंस्था र व्यक्तिसँग विश्वस्तरमै सत्य प्रेम, शान्ति, सेवा, अहिंसा आदि मानवीय मूल्यसहित सहकार्यगरी नेपाललाई हिन्दू राष्ट्रका रुपमा पुनः स्थापित गर्न धर्मसभा आयोजना गरिएको बताइएको छ ।

धर्मसभालाई सम्बोधन गर्न स्वामी श्रीनिश्चलानन्द नेपाल आउन लागेको धर्म सभा मूल आयोजक समितिका संयोजक समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले कार्यक्रमको सबै तयारी पूरा भएको बताए । सभामा स्वामी श्रीनिश्चलानन्दसहित महामन्डलेश्वर स्वामी आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानद्य सरस्वती, महेश सन्यास आश्रमका डा.रमणानन्द गिरी, डा. चिन्तामणी योगी, डा. गुरुप्रसाद सुवेदी, नेपाल बैष्णव परिषदका अध्यक्ष स्वामी देवराज आचर्य, स्वामी विवेकानन्द, स्वामी रघुनन्दन गिरी, स्वमी कमलनयनाचार्य, स्वामी स्वरुपानन्द सरस्वती, स्वामी दामोदरानन्द सरस्वती, स्वामी लोकानन्दजी, डा. लेखनाथ आचर्य, स्वामी निशेषनन्द , श्रीत महाराज, स्वामी निग्मानन्दहरुको सहभागिता हुने मूल आयोजक समितीका सदस्य गौतमले बताए ।

आज रुपन्देहीको कक्रहवा नाकाबाट नेपाल प्रवेश गर्ने शंकाराचार्य स्वामी श्रीनिश्चलानन्दको स्वागत सीमामा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीसहित धर्मगुरुहरुले गर्ने कार्यक्रम तय भएको छ । हिन्दू धर्मका धर्माचार्य तथा धर्मगुरुहरुमा वर्तमान समयमा सबैभन्दा उच्च पदमा रहेका शंकराचार्य स्वामी श्री निच्चलानन्द.सरस्वती जी महाराज नेपाल आउने भएपछि नेपालका सबै हिन्दू धर्मसंग सम्बन्धीत संघसंस्थाका प्रमुख तथा मन्दिर एवं पीठका पीठाधिसहरु भैरहवा भेला भएका छन् ।

ब्यासाचार्य किशोर गौतमले धर्मसभामा हिन्दू धर्मप्रति आस्थावान ओमकार परिवारका सबैलाई सहभागि हुन अनुरोध समेत गरे । डा. चिन्तामणी योगिले भने, ‘धर्मसभा पश्चात कार्यपत्र समेत प्रस्तुत हुनेछ । उक्त कार्यपत्रमाथि गहन रुपमा छलफल समेत हुनेछ ।’ हिन्दू राष्ट्र स्थापना गर्ने उद्देश्यसहित कार्यक्रम गरिएको उनले बताए ।

धर्मसभाको पुर्वसन्ध्यामा भैरहवामा शोभायात्रा निकाल्ने तयारी पनि भएको छ । शोभा यात्रामा विभिन्न संघ–संस्थाको संस्थागत सहभागिता रहने आयोजक समितिका सदस्य नरेन्द्र प्रसाद रौनियारले बताए । शंकाराचार्यको नेपाल बसाईलाई भब्य र सभ्य रुपमा सफल पार्न सम्पुर्ण तरिकाले चुस्त रुपमा तयारी गरिएको कार्यक्रमका सह–संयोजक समेत रहेका सिद्धार्थ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।

कक्रहवामा स्वागत, शोभा यात्रा, धर्मसभा तथा सहभागिहरुको लागि व्यवस्थित ढंगले व्यवस्थापन गर्ने गरी यथेस्ट संख्यामा स्वयंसेवक परिचालन गरिएको स्वयंसेवक समितिका संयोजक शिब मल्लले बताए । सनातन धर्मको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनको लागि शंकराचार्यको नेपाल भ्रमण प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

विभिन्न विषयमा करिब ५ सय भन्दा बढी पुस्तकका लेखक समेत रहेका जगन्नाथधामका प्रमुख श्रीमज्जगदगुरु शंकराचार्य स्वामी श्री निच्चलानन्द.सरस्वती जी महाराजलाई यसअघि नेपाल सरकारले राजकीय सम्मानसहित काठमाडौंमा तीनवर्ष पहिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका थिए । ०७५ वैशाख ३० गतेदेखि जेठ गतेसम्म त्यतिबेला शकाराचार्यले नेपाल भ्रमण गरेका थिए ।

सभामा स्वामी लोमस गिरी, डा. रबीन्द्र, राघबेन्द्र महाराज, दामोदर बाबा, धर्मपाल, योगी सोमराज, सन्त दिनदयाल, डा. गुरुप्रसाद, चैतन्य, शंकर पान्डे, जनकपुरी महाराज, बालयोगी जी, डा. रामचन्द्र, दीपक प्रकाश, शंकर खराल, डा. भोलानाथ योगी, सन्तोष पटेल, बाबा योगिराज सहित देशभरका सनातन धर्मका प्रकान्ड विद्वानहरुको उपस्थिति रहने ब्यासाचार्य गौतमले बताए ।