December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

चीनद्वारा नयाँ हाइपरसोनिक मिसाइल परीक्षण

चीनले एक नयाँ हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ । जुन परमाणु क्षमताले समेत सुसज्जित रहेको बताइएको छ । बेलायती पत्रिका फाइनान्सियल टाइम्सका अनुसार यो मिसाइलको परीक्षण अन्तरिक्षबाट भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

Advertisement

चीनले यो परीक्षण गत अगस्तमा नै गरेको थियो । तर यसबारे कसैले जानकारी नै नपाएको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ । रिपोर्टका अनुसार हाइपरसोनिक हतियारको मामिलाको चीनको विकास देखेर अमेरिकी खुफिया एजेन्सी नै हैरान बनेको जनाइएको छ ।

चीनबाहेक अमेरिका, रुस र उत्तर कोरिया समेत चार देश हाइपरसोनिक प्रविधिमा काम गरिरहेका छन् । बालिस्टिक मिसाइल जस्तै हाइपरसोनिक मिसाइल पनि परमाणु हतियारयुक्त हुन्छन् र यो ध्वनिको गतिभन्दा पाँच गुणा तीव्र रफ्तारले उड्न सक्छन् ।

बालिस्टिक मिसाइलको तुलनामा हाइपरसोनिक मिसाइल तीव्र गतिमा लक्ष्यमा प्रहार गर्न सक्छन् । यति मात्र होइन हाइपरसोनिक मिसाइललाई ट्रयाक गर्न र यसबाट बच्न पनि निकै कठिन हुने समाचामार उल्लेख छ ।

अमेरिकाजस्ता केही देशले बालिस्टिक मिसाइल र क्रूज मिसाइलविरुद्ध रक्षात्मक प्रणाली विकसित गरिसकेका छन् । तर हाइपरसोनिक मिसाइललाई ट्रयाक गर्ने र यिनीहरूलाई ध्वस्त पार्ने क्षमताबारे केही भन्न सक्ने अवस्था छैन ।

अमेरिकाको कँग्रेसनल रिसर्च सेन्टर (सीआरएस) का अनुसार चीन आक्रामक रूपमा हाइपरसोनिक प्रविधिको विकास गरिरहेको छ । अमेरिकाको रक्षा मन्त्रालयले यस रिपोर्टबारे कुनै टिप्पणी भने गरेको छैन । बीबीसी