October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

आज राति १२ बजेदेखि मोतीपुरको कर्फ्‍यू हट्ने, निषेधाज्ञा यथावत रहने

भैरहवा– रुपन्देही प्रशासनले बुटवलको मोतीपुरमा औद्योगिक क्षेत्रमा लगाएको कर्फ्‍यू आज राति १२ बजेदेखि हटाउने भएको छ । असोज २४ गते दिउँसो ४ बजेदेखि यहाँ कर्फ्‍यू लगाइएको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मंगलबार एक सूचना जारी गर्दै आज राति १२ पछि कर्फ्‍यू हटाइने जनाएका छन्।

कर्फ्‍यू लगाइएको तेस्रो दिनमा त्यहाँको स्थिति सामान्य अवस्थामा फर्कन थालेको छ । कर्फ्‍यू हटाए पनि भदौ २८ गतेदेखि नै जारी गरिएको निशेधाज्ञा भने यथावत रहेको सूचनामा उल्लेख छ । बुटवल उप–महानगरपालिका वडा नम्बर १७ र १८ मा निर्माणाधिन मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीका नाममा टहरा बनाउने समूह र प्रहरीबीच शनिबार झडप हुँदा प्रहरीको गोली लागेर चार जना सर्वसाधारणको मृत्यु र प्रहरीसहित ७० जना भन्दा बढी घाइते भएपछि कर्फ्‍यू लगाइएको थियो ।

प्रशासनको सूचना अनुसार पूर्वतर्फ तिनाउ नदी (बुटवल– १७ देखि वडा नम्बर १८ सौरहिया पुलसम्म), पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन (बुटवल–१७), उत्तर शिवनगर रानीगञ्ज बस्ती (बुटवल उप महानगरपालिका वडा नम्बर १७) र दक्षिण बुटवल उप महानगरपालिका वडा नम्बर १८ औद्योगिक कोरिडोरको जमिन (धन्दापुर सौरहियासम्म)को क्षेत्रलाई चार किल्ला मानी निषेधाज्ञा लगाइएको जारी सूचनामा उल्लेख छ ।

यसैबीच झडपमा ज्यान गुमाउनेको परिवारलाई राहत रकम र किरिया खर्च उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयले नेपाल सरकारलाई सिफारीस गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले विज्ञप्ती जारी गर्दै नेपाल सरकारको तर्फबाट मृतकको हकमा किरिया खर्च बापत ५० हजार र राहत स्वरुप प्रति परिवार ५ लाख रुपैया र प्रदेश सरकारका तर्फबाट प्रति परिवार १ लाख रुपैया प्रदान गर्न सिफारिस भएको जनाएका छन् ।

सबै घाईतेहरुको उपचार बापत लाग्ने खर्चको लागि पनि नेपाल सरकार र प्रदेश सरकारलाई सिफारिस गरेको विज्ञप्तिमा उल्लेख छ ।