October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

मोतीपुर औद्योगिक क्षेत्रमा झडप, प्रहरीले चलाएको गोली लागेर स्थानीय घाइते

बुटवल– प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र तनाब भएको छ ।

जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा यहाँ तनाब भएको हो। अहिले मोतीपुर क्षेत्र तनावग्रत छ । प्रहरीले अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा झडप भएको हो । स्थानीयका अनुसार झडपमा प्रहरीले चलाएको गोली लागेर दर्जन स्थानीय घाइते भएका छन्। केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झडपमा प्रहरीले अत्यधिक बल प्रयोग गरी केही राउन्ड गोली चलाएको स्थानीयले आरोप लगाएका छन्। राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई प्रहरीले पक्राउ गरेको पनि स्थानीयको आरोप छ।

प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए।

बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो। प्रशासनले तीन दिनदेखि रातिमा टहराहरु भत्काइदिँदै आएको थियो। तर त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो।

जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले सशक्त विरोध गरेका थिए।