December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

जलवायु परिवर्तनले कफी, मासु जस्ता दैनिकी खानेकुरा ‘लक्जरी’ बन्ने खतरामा

जलवायु परिवर्तनका कारण कफी, मासु, केही मसलालगायत हामीले दैनिक सेवन गर्ने साधारण खानेकुराहरु विस्तारै ‘लक्जरी’ अर्थात् धेरै खर्च गरेर पनि कहिलेकाहिँ मात्र खान सकिने परिकार बन्ने जोखिम बढेको छ । 

Advertisement

समुद्री परिकार, ‘लब्सटर’ पनि कुनैबेला धनी वर्गहरुले नरुचाउने परिकारमा पर्दथ्यो । तर अभाव सुरु भएसँगै यसको मूल्य बढ्यो र यो ‘लक्जरी’ मा परिणत भएको हो । 

तर हामीले चिनीजस्ता खाद्य वस्तुमा चाहिँ विपरीत प्रभाव देख्न सक्छौँ । किनकि कुनै समय यो धनीहरुका लागि मात्र उपलब्ध थियो । तर यसको धेरै भन्दा धेरै खेती र उत्पादन सुरु भएपछि अभाव हुन छाड्यो र सबैलाई उपलब्ध हुनाले मूल्य पनि घट्यो र लक्जरी खानेकुराको सूचीबाट बाहिरियो । त्यस्ता धेरै फलफुल र तरकारीहरु कुनै समय लक्जरी मानिन्थे । तर अहिले प्रविधिको विकाससँगै सबै खानेकुरा हर मौसममा उपलब्ध हुन थाल्यो । 

यसरी लक्जरी खानेकुराहरु वापदको उच्च मूल्य हामीले मात्र नभइ पृथ्वीले पनि चुकाउनु पर्ने हुन्छ । जस्तै कुनै माछा या समुद्री जीवको अभाव सुरु हुनासाथै यसको मूल्य अचानक बढ्छ र त्यसले व्यापारीहरुलाई बाँकी रहेका माछा पनि छिटो संकलन गर्न प्रोत्साहित गर्दछ । यसले जीवहरु लोप हुने खतरा बढाउँछ । 

ऐतिहासिक रुपमा लक्जरी मानिने कफी, चकलेट र विभिन्न मसालाहरु पछिल्लो समय सुपरमार्केटमा प्रशस्तै पाइन्छन् । तर जलवायु परिवर्तनका कारण बढ्दो तापमान र अप्रत्याशित वर्षाले यसलाई आगामी केही वर्षहरुमा दुर्लभ र पहिले जस्तै लक्जरी खाद्य वस्तुमा परिणत गर्ने खतरा बढेको छ । 

कुनै समय कफी धार्मिक रितीहरु अपनाउँदा मात्र विशेष परिकारका रुपमा प्रयोग गरिन्थ्यो । र पश्चिमी व्यापारीहरुले त्यही बास्नादार पेय घर लिएर आए अनि कफी हाउस नाम दिएर बेच्न सुरु गरे । यसरी कफीको खेती पनि विश्वभर विस्तार हुँदै गयो र दैनिक उपभोग गरिने लोकप्रिय ‘ड्रिङ्क’ बन्न पुग्यो । 

तर आज कफी र चकलेट फेरि अत्याधिक महङ्गो र सजिलै उपलब्ध नहुने दुर्लभ खानेकुरा बन्ने जोखिममा पुगेका छन् । यो सबै जलवायु परिवर्तनका कारण हुन लागेको हो । यसरी विश्वव्यापी तापमान वृद्धि २ डिग्री पुग्ने हो भने घाना र आइभोरी कोस्टका जमिन कचलेट बनाइने विरुवा ‘कोकोआ’ को उत्पादनका लागि अयोग्य बन्दै जानेछन् ।  

त्यस्तै जलवायु परिवर्तनले विश्वव्यापी कफी उत्पादन भइरहेका आधा भन्दा बढी जमिन २०५० सम्म नष्ट पारिदिने पनि विभिन्न अध्ययनहरुले देखाएका छन् । अर्को एक रिसर्चले चाहिँ ल्याटिन अमेरिकामा अहिले उत्पादन भइरहेको कफी बढ्दो तापमानका कारण ८८ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ । 

त्यसैगरी हजारौँ वर्षसम्म सम्पति र शक्तिको चिन्ह मानिँदै आएका केही मसालाहरु पनि अहिले जोखिममा छन् । बास्नादार मसालाहरको माग पछिल्लो समय अप्रत्याशित रुपमा बढेको छ । अहिले प्रायः सबै सस्तोमा र सजिलै पाइने भएपनि बिस्तारै यिनीहरु लक्जरीमा परिणत हुने खतरामा छन् । 

मसालाका बिरुवाहरु लामो समयदेखि जलवायु परिवर्तत विरुद्ध लड्दै आएका छन् । जस्तै उच्च मात्रामा वर्षा हुनुले ‘एफिड्स’ लगायत विभिन्न रोग फैलाउने जीवाणुहरुलाई जन्म दिन्छ । त्यस्तै भारतमा सबैभन्दा बढी केशर उत्पादन हुने कश्मिरी क्षेत्रमा सुख्खापनका कारण बिरुवाहरु राम्ररी बढ्न पाएका छैनन् । 

त्यस्तै अप्रत्याशित मौसमकै कारण मदागस्करमा सबैलाई मनपर्ने आइसक्रिमको फ्लेबर, ‘भनिला’ को उत्पादनमा पनि पछिल्ला केही वर्ष नराम्ररी प्रभावित भएको छ । २०१७ मा आएको एक आँधीले मदागस्करको ३० प्रतिशत खेतीमा क्षति पुर्याउँदा भनिलाको मूल्य ६०० डलर प्रति किलोग्रामले आकाशिएको हो । त्यसपछि यो चाँदी भन्दा महङ्गो खाद्य वस्तु बनेको थियो । 

यसरी दैनिक प्रयोग हुने खाद्य वस्तुहरु महङ्गो, दुर्लभ र लक्जरी बन्दै जानु वास्तवमै दुःखदायी भएको युनिभर्सिंटी अफ सरेका खाद्य प्रमुख मोनिक राट्स बताउँछन् । 

उनले भनेका छन्, “अब यस्ता धेरै खानेकुराहरु मान्छेको पहुँच बाहिर हुँदै जानेछन् । ”

यसैगरी वातावरणमा पर्ने प्रभावका कारण मासुको उपभोगमा पनि अबका केही वर्षहरुमा उल्लेख्य कमी आउने बताइएको छ ।

हाल धेरैका लागि मासु दैनिक सेवन गरिने सामान्य खानेकुरा समान रहेको छ । तर बढ्दो जनङ्ख्याका कारण जमिनहरु खेतीपातीमा बढी प्रयोग हुनुले मासु उत्पादनलाई कठिन बनाउँदै लग्ने विज्ञहरु बताउँछन् । 

त्यसैले कुनै समय मासु सामाजिक रुपमा अस्वीकार्य खाद्य वस्तु बन्न पुग्ने युनिभर्सिटी अफ एडिनबर्गका पिटर एलेक्जेन्डर बताउँछन् । 

उनका अनुसार मानिसहरुले मासुलाई धुम्रपान समान मान्न थाल्नेछन् । 

तर त्यो अवस्थामा सिधै नपुगिने पनि उनले स्पष्ट पारे । कतिपय देशहरुमा मासु खानु राष्ट्रिय पहिचान नै मानिन्छ । त्यसैले यसबाट मोडिन धेरै गाह्रो पर्ने पापिज बताउँछिन् ।  अहिलेसम्म पनि धेरै भिगन र शाकाहारीहरुले आफूले किन मासु नखाएको या खान छाडेको भनेर मानिसहरुलाई सम्झाउनुपर्दछ । 

त्यस्तै कार्बन उत्सर्जन घटाउनका लागि विभिन्न देशका सरकारहरुले चिनीमा जस्तैगरी मासुमा कर बढाउने अधिक सम्भाव्यता रहेको पनि एलेक्जेन्डर बताउँछन् । यसले मासुको मूल्य बढ्नेछ र बिस्तारै लक्जरी उत्पादनमा परिणत हुन सक्छ । 

हाल विश्वव्यापी रुपमा १४.५ प्रतिशत ग्रिनहाउस ग्यास उत्सर्जनका लागि पशुपालन जिम्मेवार रहेको पाइन्छ । 

वातावरणको मूल्यमा खाद्य उत्पादन गर्दा परिणाम स्वरुप त्यसले ग्रिन हाउस ग्यास उत्सर्जन गराउने देखि पानी, वायु लगायत प्रदुषण अनि जीवजन्तुहरुको वासस्थान समेत नष्ट गरिरहेको हुन्छ जुन समस्यालाई अब हामीले लामो समय टार्न सक्नेछैनौँ । बीबीसी