कृष्णनगरमा झाडापखलाको प्रकोप, तीनको मृत्यु
कपिलवस्तु– यहाँको कृष्णनगर नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । तीन दिनदेखि यहाँ झाडापखलाका गम्भीर बिरामी भेटिन थालेका हुन् । झाडापखालाका कारण तीन जनाको मृत्युसमेत भएको छ ।
स्वास्थ्य कार्यालयकाअनुसार कृष्णनगर–८ का ४० वर्षीया रामप्रसाद केवट र वडा नम्बर ९ का ५ वर्षीया बालक राज कश्यप र वडा नं. ७ का एक वृद्धको मृत्यु भएको छ। ‘अवस्था दयनीय बन्दै गएको छ’, नगरपालिकाका प्रमुख रजतप्रताप शाहले भने, ‘धेरैको शिवराज अस्पताल बहादुरगञ्जमा उपचार भइरहेको छ । गम्भीर विरामीलाई बाहिरी अस्पतालमा रेफर गरिएको छ ।’
नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा झाडापखालाका बिरामीको संख्या दैन्दिन बढ्दै गएका छन् । स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेले भने, ‘दूषित पानीका कारण झाडापखाला फैलिएको हाम्रो आशंका छ । रोग नियन्त्रणका लागि औषधि र जनशक्ति कृष्णनगर पठाइसकेका छौं ।’ यहाँ विभिन्न वडामा सयौंको संख्यामा विरामी रहेको नगरपालिकाले बताएको छ ।
झाडापखलाका विरामी बढेपछि अस्पतालका शैय्या भरिएका छन् । कयौं विरामीको भूइँमा नै राखेर उपचार भइरहेको छ । बहादुरगंज अस्पतालमा मात्रै एक सय बढी विरामीको उपचार जारी छ । प्रभावित क्षेत्रमा स्वास्थ्य कार्यालयले दुई चिकित्सकसहितको टोली पठाएको छ । नगरपालिकाको स्वास्थ्य शाखाबाट समेत एउटा टोली प्रभावित क्षेत्रमा खटिएको छ । यसबारेमा बुझ्न लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको टोली प्रभावित स्थलतर्फ जाने तयारी थालेको छ ।
प्रतिकृया दिनुहोस्