January 23, 2025, Thursday
२०८१ माघ १०

सीताको मृत्युबारे तिलोत्तमाले गरायो गृहमन्त्रीको ध्यानाकर्षण

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सीता भण्डारीको शंकास्पद मृत्यु र त्यससँग जोडिएका विषयमा गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएको छ । साथै शंकास्पद मृत्युको विश्वसनीय छानबिन गरी वास्तविक तथ्य छिटो सार्वजनिक गर्न र दोषी उपर हदैसम्मको कानूनी कार्वाही गर्न माग गरिएको छ ।

नगर प्रमुख बासुदेव घिमिरे नेतृत्वको टोलीले सोमबार गृह मन्त्रालयमा मन्त्री खाँणलाई भेटेर घटनाको विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो । नगरपालिकाले घटनाको विश्वसनीय छानबिन गर्दै वास्तविक तथ्य छिटो सार्वजनिक गर्न र दोषी उपर हदैसम्मको कानूनी कारवाही गर्न गृहमन्त्रीसँग माग गरेको छ ।

Advertisement

घटनाको विषयमा यसअघि नैं आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको नगरपालिकाले सत्यतथ्य छानविन र पीडित पक्षलाई न्याय दिलाउन प्रहरी प्रशासन तथा जिल्ला प्रशासन कार्यालयलाई समेत पटक–पटक ध्यानाकर्षण गराए पनि अझैसम्म घटनाको निष्कर्ष र वास्तविकता आउन नसक्दा पीडित झनै पीडित र आन्दोलन र विरोध दिनानुदिन बढ्दै गैरहेको गृहमन्त्री खाँणलाई जानकारी गराएको घिमिरेले बताए ।

यो घटनालाई महिला हिंसा र सामाजिक न्यायको दृष्टिकोणबाट पनि हेर्दै पीडित पक्षको न्यायको लागि नगरपालिका समन्वय र सहकार्य गर्न तयार रहेको नगरपालिकाले पुनः स्पष्ट पारेको छ । तिलोत्तमा–५ मणिग्राम घर तथा वडा नं. ८ चारनम्बर माइत भएकी २७ बर्षीय सीता भण्डारीको भदौ २० गते मणिग्राम घरमा शंकास्पद मृत्यु भएपछि घटनाको विषयलाई लिएर दिनहुँजसो प्रर्दशन भैरहेका छन् ।

विरोध प्रर्दशन तथा आन्दोलनले नगरपालिकाको सेवा प्रवाह समेत प्रभावित भएको छ । यसअघि नगरपालिकाले भदौ २७ गते प्रेस विज्ञप्ति र भदौ २८ गते सर्वदलीय बैठक राखेर घटनाको विषयको निष्पक्ष र विश्वसनीय छानविन गरी दोषी उपर कडा भन्दा कडा कारवाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको थियो ।