January 13, 2025, Monday
२०८१ माघ १

लागूऔषध र एचआईभी सम्बन्धी सरोकारवालासँग बैठक

भैरहवा– लागूऔषध दुरुपयोग र एचआईभी रोकथाममा सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी निभाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । सेभ द चिल्ड्रेन अन्तर्राष्ट्रियको साझेदारीमा आस्था समूहले सञ्चालन गरेको क्षति न्यूनिकरण कार्यक्रम अन्तर्गत भैरहवामा भएको सरोकारवालाहरुसँगको बैठकमा उनीहरुले यस्तो बताएका हुन् ।

आस्था समूहद्वारा आयोजित बैठकमा स्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.राजेन्द्रकुमार गिरीले लागूऔषध, एचआईभी रोकथाममा नेपाल सरकारलाई सघाउन गैरसरकारी संस्थाहरुले खेलेको भूमिकाको प्रशंसा गरे । रोकथामका क्षेत्रमा आगामी दिनमा आस्था समूहले अझ प्रभावकारी भूमिका निर्वाह गर्ने उनले विश्वास गरे । ‘यस्ता संस्थाहरुको सहयोगले लागूऔषध र एचआईभी नियन्त्रणमा प्रभावकारी काम भएको छ’, उनले भने ।

Advertisement

सिद्धार्थनगर नगरपालिका–८ का वडाध्यक्ष राजनजंग राणाले रुपन्देहीका कुन–कुन स्थान बढी जोखिममा रहेका छन्, त्यसको वडा स्तरमा डाटा नगरपालिकाले पाएमा सिद्धार्थनगर नगरपालिकाले गैरसरकारी संस्थाहरुलाई सहयोग गर्ने जनाए । संस्थाले सन् २०२० मा प्राप्त गरेका उपलब्धि र २०२१ को लक्ष्य तथा उपलब्धीबारे आस्था समूहका अनुगमन अधिकृत खेमराज हितानले सहभागीहरुलाई जानकारी गराएका थिए ।

रुपन्देहीमा हालसम्म १ हजार २ सय २६ जना लागूऔषध प्रयोगकर्ताहरुले सेवा लिइरहेको उनले बताए । सहभागीबाट उठेका प्रश्नहरुको जवाफ संस्थाका कार्यक्रम अधिकृत गोपाल बन्जाडेले दिएका थिए । लागूऔषध दुुरुपयोग र यसबाट हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आस्था समूहले रुपन्देही, कपिलबस्तु र नवलपरासी पश्चिमका जिल्लाहरुमा क्षति न्यूनीकरण कार्यक्रम अन्तर्गत सुई सिरिन्ज साटासाट, समुदायमा एचआईभी परीक्षण, परामर्श जस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेको बन्जाडेले बताए ।

लागूऔषधको कुलतबाट वाहिर निस्कन चाहने व्यक्तिलाई लुम्बिनी प्रादेशिक अस्पतालबाट मेथाडोन र बुप्रेनरफिन औषधि सेवन गराउने बैकल्पिक उपचार पद्दति पनि आस्था समूहले सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका स्वास्थ्य संयोजक पिताम्बर पाठक, सामाजिक विकास डिभिजन कार्यालयका शाखा अधिकृत श्यामलाल न्यौपानेलगायत जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधीहरु र रुपन्देहीमा कृयाशील विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिरुको उपस्थिति थियो । कार्यक्रम स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयकुष्ठ अधिकृत तथा एचआईभी फोकलपर्सन टीकाराम अधिकारीको सञ्चालन तथा आस्था समूह रुपन्देहीका कार्यक्रम अधिकृत बन्जाडेको स्वागतमा भएको थियो ।