उपमहानगर प्रमुख सुवेदीलाई मुक्का प्रहार गर्ने युवालाई सार्वजनिक मुद्दा


बुटवल– प्रहरीले रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई सार्वजनिक मुद्दा चलाउने भएको छ । प्रहरीका अनुसार प्रशासनबाट म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवरले नगर प्रमुख सुवेदीले कुनै पनि उजुरी नदिए पनि सार्वजनिक ठाउँमा हातपात गरेकाले अनुसन्धान भइरहेको बताए । उनले मुद्दा दर्ता नगरे पनि जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार नै कारवाही प्रक्रिया अगाडि बढाएको बताए ।
उपमहानगर प्रमुख सुवेदीले पंगेनीमाथि मुद्दा नचलाउन प्रहरीमाथि आग्रह गरेका थिए । सुवेदीको आग्रहलाई प्रहरीले बेवास्ता गरी सार्वजनिक मुद्दा चलाउन लागेको हो । नगर प्रमुख सुवेदीले आफूमाथि मुक्का प्रहार गरेका पंगेनीलाई कुनै मुद्दा नचलाउन आग्रह गरेको दावी गरेका थिए ।
सोमबार बिहान बुटवल–३, ज्योतिनगरको पहिरो अवलोकन गर्ने क्रममा उपमहानगर प्रमुख सुवेदीलाई पंगेनीले एक्कासी मुक्का प्रहार गरेका थिए । प्रहरीले सोही दिन साँझ उनलाई पक्राउ गरेको थियो । डीएसपी कुँवरका अनुसार थप अनुसन्धानका लागि मंगलबार ५ दिनको म्याद थप गरिएको छ । उनलाई इलाका प्रहरी कार्यालयका बुटवलको हिरासतमा राखिएको छ ।
प्रतिकृया दिनुहोस्