April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

नगर प्रमुख सुवेदीलाई मुक्का हान्ने पक्राउ

बुटवल– बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । सुवेदीमाथि मुक्का प्रहार गर्ने गणेश पङ्गेनीलाई सोमबार साँझ बुटवलबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको हो ।

Advertisement

सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका सुवेदीलाई उनले मुक्का प्रहार गरेका थिए । पङ्गेनी पहिरो प्रभावित ज्योति नगरकै बासिन्दा हुन् । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी उनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुन् ।

Advertisement

पहिरो अवलोकनको लागि भन्दै सुवेदी बुटवलको लक्ष्मीनगर र ज्योतिनगर क्षेत्रमा गएका थिए। सोही क्रममा स्थानीयले आफूहरू पहिरो पीडित हुँदा सरकारले केही नगरेको भन्दै आक्रोश पोखेका थिए भने पङ्गेनीले मुक्का नै हानेका थिए।

पंगेनीलाई दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दा लगाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मदन कुँवरले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।